News Portal

बढाऔँ ज्येष्ठ नागरिकको सम्मान

रातोपोस्ट
६९० पटक

काठमाडाैं, १५ असाेज । आज ज्येष्ठ नागरिक दिवस हो । देशभर यो दिवस मनाइरहँदा राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ । अक्टोबर १ मा ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा नेपालमा पनि आज विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । यद्यपि ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेशी’ भनेझैं समाजमा असम्मान बढिरहेको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको संस्था एजिङ नेपालका अनुसार पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छवटा मात्र भेटिन्थ्यो अहिले सो सङ्ख्या बढेर २० देखि २५ पुगेको छ । एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार तीव्र रूपमा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन्, उहाँहरूको सीप र ज्ञानलाई राज्यले उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाज र सरकार सबैको हो ।”

ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आफैँले आफैँलाई अविश्वास गर्नु, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, ज्येष्ठ नागरिकलाई बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखाएको छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपियाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक चार हजार रुपियाँ पु¥याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्