News Portal

श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै नेपाल शीर्षस्थानमा

रातोपोस्ट संवाददाता
४८४ पटक

काठमाडौं, १९ असाेज । माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–२ गोलान्तरको जित निकालेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । श्रीलङ्काका लागि ५६औँ मिनेटमा ह्यामिलटनले गोल गर्दै खेलमा फर्कने सङ्केत गरे पनि त्यो अपुग रह्यो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान एक–एक गोल गरेका थिए ।

निर्धारित ९० मिनेट खेल सकिएसँगै थप गरिएको पाँच मिनेटको दोस्रो मिनेटमा श्रीलङ्काले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरमा श्रीलङ्काका डी सिल्भाले गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरेका थिए । जितसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा आयोजक माल्दिभसविरुद्ध १–० गोलान्तरको जित निकाल्दै स्पष्ट तीन अङ्क बटुलेको नेपाल दोस्रो खेलमा पनि जित निकालेसँगै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो खेलमा जित र दोस्रो खेलमा बराबरी गरेको बङ्गलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ । बङ्गलादेशसँग पहिलो खेलमा पराजित बनेको श्रीलङ्का सोमबारको खेलमा नेपालसँग स्तब्ध बनेसँगै तालिकाको पुछारमा रहेको छ । दुई खेलमा अङ्कविहीन बनेको श्रीलङ्काको जारी साफको यात्रा लगभग समाप्त भएको छ । नेपालले अबका आफ्ना दुई खेल भारत र बङ्गलादेशसँग खेल्न बाँकी छ भने श्रीलङ्काले भारत र आयोजक राष्ट्र माल्दिभसको सामना गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्