News Portal

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

रातोपोस्ट संवाददाता
३६८ पटक

काठमाडौं, २८ असाेज । नवरात्रको नवौँ दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन आसोज २१ गते दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजा आरधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर १९ मिनेटमा साइत उत्तम रहेको जनाएको छ ।

मुमुक्षुहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ ।

यी देवी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिकृया दिनुहोस्