News Portal

पाठक लठ्याउने ‘रिडर्स गफ’

पुन्यप्रसाद खरेल
३८१ पटक

झापा, ३१ असाेज । सन्तोष आचार्यको ‘रिडिर्स गफ’ पढें । नपत्याउँदो गरी महत्त्वपूर्ण, रसिलो र गहक कृति पहिलो झमटमै प्रकाशन गरे सन्तोषले । तीर्थ सिग्देलको ‘एक दिन (समय कथा) पढ्दा बेग्लै प्रकारले म प्रभावित भएको थिएँ । देशदेशान्तर घुमेर बटुलेका ज्ञानले अरुलाई ज्ञानी बनाउन उनले एउटा गतिलो कृति दिएका छन् । उनको ‘पूर्वको राजनीति’ त साँच्चै नेपालको पूर्वाञ्चलको राजनीतिक संघर्षको एउटा ऐना नै छ । सिग्देलजीका अरु कृतिहरु आफ्नै विशेषताका छन् । उनी लेखकका रुपमा आफ्नोपन प्रकट गर्न उद्यत लेखक हुन् । त्यस्तै गरी एउटा छुट्टो विशेषताले युक्त, नयाँ शैलीको कृति दिएका छन् सन्तोष आचार्यले ।

२०० पृष्ठजतिको ठुलो कृति, उनले ‘रिडर्स गफ’ भनेका छन्, यसको काय पनि हेर्दै राम्रो, चिटिक्कको, सुन्दर रङ र साजसज्जा पनि मिलेको, बोकौं–बोकौं लाग्दो, भित्र सुरुवात, रिडर्स गफ २, ३ गर्दै रिडर्स गफ ३९ र टुङ्ग्याउनी भनेर ४० वटा गफ लेखेका छन् । हुन त गफमा कमसेकम दुई जना हुनै पर्छ, त्यसदेखि तिन, चार या पाँचहरु आपसमा गफ गरेको हुनैपर्छ गफ हुनलाई । त्यस्तो गफ भने यो होइन । मैले प्रशिद्ध निबन्धकार, समालोचक चूडामणि रेग्मीको ‘गफडीका गफ’ पढेको छु ।

पञ्चायत कालको, त्यो पनि ‘गाउँफर्के’ चम्किएका बेलाको झापाको राजनीतिक, सामाजिक, शैक्षिक जगत र तिनमा देखिएका विकृतिको झर्रो भाषामा चित्रण गरिएका निबन्धहरु छन् । हरेक निबन्धमा ‘कुरौटेका बातमा बात, गफडीका बातमा बात, केराका पातमा पात’ जस्ता कुरा आएका छन् र त्यसमा पनि ‘गफ नम्वर–१’, ‘गफ नम्वर–२’ हुँदै ‘गफ नम्वर–१०८’ सम्म गफ छापिएका छन् । प्रायः गफहरु चिटिक्कका र पुस्तकको एउटा पातोमा अटाउनेजस्ता, कुनैकुनै मात्र डेढ–दुई पातोका छन् ।

मैले राहुल सांकृत्यायनको हुनुपर्छ, यशपालको होइन होला, एउटा अत्यन्त महत्त्वपूर्ण कृति पढेको थिएँ ‘चक्कर क्लव’ नामको । त्यस कृतिले मेरो विश्वदृष्टिकोण नै बदलेको थियो । सात आठ वटा शीर्षक थिए होला पुस्तकमा । त्यो पुस्तक हरायो । फेरि किन्न खोज्दा पनि पाएको छुइनँ । क्लवमा पाँच–छ जना हुन्थे, एक जना कमरेड, एक जना गान्धीवादी सज्जन, एक जना नेहरुपन्थी, एक जना पुरातन संस्कृतिका अनुचर, एक जना शिक्षक, एक जना वकिल यस्तै । कुनै विषय प्रवेश हुन्थ्यो, त्यस क्लवमा र रौंचिरा बहस छेडिन्थ्यो ।

साँच्चैको बहस चल्थ्यो त्यहाँ घुँडा धसेर । पाठक कुन विश्वदृष्टिकोणको छ उसका घतमा जाने गरी ती तर्क गर्दथे । त्यो क्लव ठाउँ सरीसरीकन मौकाअनुसार बहसमा नारिन्थ्यो । त्यो भने साँच्चैको ‘गफ’ भन्न लायकको थियो । ती गफडीका गफ एकसेएक गहन, तर्कयुक्त हुन्थे, तथ्यमा आधारित हुन्थे र पाठकलाई तिनका तर्कले, गफले मोहित पाथ्र्यो ।

सन्तोषजीको यो ‘रिडर्स गफ’ भने गफको विषयमा विमर्श छन्, विवरण छन्, गफ गर्ने कुरा उठाउने कुराहरु छन् । अर्थात् रिडर्स (पाठकहरु) विर्सन्छन् पढ्न थालेपछि गफ हो कि के हो र मोहित हुन्छन्, लाटिन्छन्, एकोहोरिन्छन् र ‘गफ’को टुङ्ग्याउनीमा पुग्दा झसङ्ग हुन्छन् । पढ्दै गर्दा सन्तोषको ‘गफ’ पढिरहेका होइन, आफैं ती कुरा सम्झिँदै गएको, आफैं ती कुरासँग आत्मसात हुँदै गएको जस्तोमा पर्छन् ‘रिडर्स’ मतलव पाठकहरु ।

गफको सुरुवात ‘म किन लेख्छु ?’ पढ्दै कति राम्रो छ । मैले त यो पढ्दा म्याक्सिम गोर्कीको कथा ‘एउटा पाठक’ सम्झिन पुगें । कथामा एक जना लेखक–कवि छन्, आफ्नो सृजना सुनाएर गमक्क पर्दै फर्कंदै हुन्छन्, एउटा पाठकले उनीसँग ‘तपाईं किन लेख्नुहुन्छ ?’ ‘कसले पढोस् भनेर लेख्नुहुन्छ ?’ ‘लेख्नुको उद्देश्य के हो ?’ यस्तै के–के प्रश्नहरु गरेर अलल्याउँछन् । त्यस्तै परेको छ यहाँ ।

लेखकले लेख्ता आफैं किन लेख्ने भन्ने बारेमा त वास्तवमै जानकारी राख्नै पर्छ नि ! रिडर्स गफ–२ छ ‘यो सामान्य कुरा हो’ शीर्षकको । यो त झन् मलाई कति राम्रो लाग्यो–लाग्यो ! यो लेख त लेखकले स्वयं कतिको मूल्याङ्कन गरेका छन्, यो पुस्तकका ‘गफ’हरुमध्ये नमूना (आइकन) मानेको छु मैले । यसमा भाषा, उखान टुक्काको प्रयोग, विषयवस्तु, लेखाइ शैली, हाम्रो सामाजिक मानसिक यथार्थता र त्यसमाथि साङ्केतिक व्यङ्ग्य एकदम उच्चकोटीको छ ।

त्यसोभए अरु ‘गफ’हरु कमजोर छन्, कमका छन् ? त्यस्तो हुँदै होइन । सबै ‘गफ’हरु एकसेएक छन् । चार–पाँच वटा ‘गफ’ त यात्रा संस्मरणका होलान् । वलाङचुङ गोला जाँदाका झसङ्ग पार्ने दुई वटा गफ, त्यस्तै रौं नै जुरुङ्ङ पार्ने कलकत्ताबाट एसी बसमा फर्कंदाको गफ, पाथिभरा यात्राको गफ, अझै विराटनगर वृहत् पुस्तक प्रदर्शनीमा जाँदाको गफ पनि छ, धुलाबारी बैरागी काइँलासँग भेटघाट गर्न र अन्तर्वार्ता लिन जाँदाको गफ पनि छ । आसलाग्दा युवा युवराज थापाको मानसिक विचलन, त्यसमा हाम्रो समाजका अगुवाहरुको, शासन व्यवस्थाको करतुतका गफ पनि दुई वटा छन् । हामीले ल्याएको, बनाएको भनेको व्यवस्था बारेका गफ, हाम्रो गाउँ समाजका चोकको गफ अनेक गफ छन् ।

यी समग्र गफले २०६८–७०को हाम्रो संविधान सभाको सकस पनि देखाउँछ, राजनीतिक दलहरुको र नेताहरुको सकस पनि देखाउँछ, ‘रिडर्स झापा’ नामक चर्चित संस्थाको जन्मको गर्भकथा पनि देखाउँछ, यसले गरेका गर्न खोजेका कामहरुको वृत्तचित्रका झल्का पनि दिन्छ । अर्थात् ‘साहित्य–समाज व्यवस्थाको जीवन्त ऐना हो’ भन्ने पुष्टि गर्छ ।

म अहिले यो कृति पढ्दा मैले बोध गरेको छोटो कुरा मात्र लेख्न बसको हुँ, समालोचना गर्न लागेको हुइनँ ।
म त सन्तोषजीले लगभग शुद्ध नेपालीमा, झर्रो नेपालीमा, सरल नेपालीमा यस्तो राम्रो कृति दिएकोमा ताजुप परेको छु । यसमा शब्दहरु कुनै अनर्थमा प्रयोग भएका छ्रैनन्, सापेक्षित रुपमा अंग्रेजी शब्दको उपयोग नगण्य बरावर छ । ‘रिडर्स’ संस्थाकै नाम भएर यहाँ आएकाले यसलाई क्षम्य मानिएको छ । ‘मोवाइल’, ‘केवुल’, ‘नेटवर्क’, ‘टावर’, ‘प्रेसर’, ‘सुगर’ जस्ता शब्दहरु त अब ‘टाइम’ जस्ता ‘कोट’ जस्ता भइसक्न लागे । यस्तो उत्कृष्ट र महत्त्वपूर्र्ण कृति प्रदान गरेकोमा लेखक संतोषलाई हार्दिक बधाई !

सन्तोष आचार्यले पहिलो कृति नै यति सरस, यति उपयोगी र यति राम्रो निकाले नि ! मलाई लाग्छ यस कृतिले उनलाई एकदम अप्ठेराेमा हालिदिएको छ । मलाई लाग्छ, जसजसले पढ्छन् ‘रिडर्स गफ’ यी सब ४० वटै गफ तन्मयतासाथ पढ्छन्, राम्रो मान्छन्, उपयोगी ठान्छन् । अब लेखकका दोस्रा वा तेस्रा कृतिहरु पढ्दा चिनी खाएपछि चिया खाएजस्तो भए भने ? अब अझ राम्रा, अझ महत्त्वका अझ उत्कृष्ट कृति दिन सकिएन भने अहिले प्राप्त गरेको उचाइमा उभिइरहन पाइँदैन ।

अब यो उचाइ कायम गरिरहन, उचाइ बढाउँदै लैजान यस कृतिले सन्तोषजीलाई चुनौती दिएको छ । उहाँ त्यो चुनौती सामना गर्न सफल बन्नुहोस् ! अर्को अझ उत्कृष्ट कृति चाँडै प्रदान गर्न हार्दिक शुभकामना !

प्रतिकृया दिनुहोस्