News Portal

जन्मदिनकाे अवसरमा भट्टराईद्धारा अपाङ्ग बालशिक्षा केन्द्रमा खाद्यान्न सहयाेग

रातोपोस्ट संवाददाता
३२० पटक

झापा, ७ कार्तिक । नेपाली समाजमा पछिल्लो समय जन्मोत्सवमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको बेला मेचीनगरका युवाले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न तथा किराना सामाग्री सहयोग गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा-१२ का उत्सव भट्टराईले आफ्नो जन्मदिनको खर्च कटाएर अर्जुनधारा नगरपालिका वडा- ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न र किराना सामाग्री प्रदान गरेर जन्मदिन मनाएका हुन् ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा गएर खाद्यान्न तथा किराना सामाग्री वितरण गर्दै भट्टराईले जन्मदिनमा गर्ने खर्च अशक्त र अपाङ्ग बालबालिकालाई सहयोग गर्दा केही भएपनि राहत मिल्ने भएकाले सहयोग गरेको बताए । उनले आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भट्टराई विचार चौतारी युवा क्लब मेचीनगरका कोषाध्यक्ष, जोइन्ट ब्रदर्स एण्ड इन्टरटेन्मेन्टका सञ्चालक, चारआली जेसिज वर्ष २०२१ का अर्गनाइजेसन कोडिनेटरलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।

उक्त सहयोग कार्यक्रममा विचार चौतारी युवा क्लबका संस्थापक अध्यक्ष नेत्रप्रसाद मिश्र, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाल, विचार चौतारी युवा क्लबका अध्यक्ष हरिकृष्ण भण्डारी, सचिव रामचन्द्र नेपाल, सदस्यहरु विवस तिम्सिना, इश्वर रिजाल, नवकिरण युवा क्लब अर्जुनधाराका सचिव कुशल बस्नेत लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विचार चौतारी युवा क्लबका संस्थापक अध्यक्ष नेत्रप्रसाद मिश्र, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाललगायतले आ-आफना धारणा राखेका थिए । उक्त सहयोग कार्यक्रमको सञ्चालन विचार चौतारी युवा क्लबका महासचिव तथा सञ्चारकर्मी उमेश खतिवडाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्