News Portal

बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेद्वारा दावी पेश

रातोपोस्ट संवाददाता
२४८ पटक

हेटौंडा, १० कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा ९एकीकृत समाजवादी० पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् । शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न भनिएको छ । बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको थियो । गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा दावी पेश गरेका एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेको पक्षमा ५९ जना सांसद छन् । जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्