News Portal

  • बिजुलीको महशुल घट्यो, मंसिरदेखि लागू हुने

    रातोपोस्ट संवाददाता
    ६७ पटक

    काठमाडाैं, १० कार्तिक । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत महसुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिए ।

    अध्यक्ष सिंहले विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको बताए । मासिक ३० रुपैयाँमात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरूले लाभ लिने आयोगले जानकारी दिएको छ । उनले आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको बताए ।

    आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ । त्यस्तै आयोगले मासिक ४०० युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।

    आयोगका अध्यक्ष सिंहले भने, ‘ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाइएको छ । सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्न ५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १००,१२५ र १५० रुपैयाँ कायम गरिएको छ । यसैगरी सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०,१७५,२०० र २५० रुपैयाँ कायम गरिएको छ ।’

    ‘विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी निर्णय गरिएको छ । त्यस्तै सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेहरूको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रति युनिट ९.५० रुपैयाँ कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ’, सिंहले थपे ।

    आयोगले आन्तरिक रूपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्होजस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महसुल दर साबिकको भन्दा कम गरेको छ । त्यस्तै सिँचाइका ग्राहकको महशुल दर पनि घटाएको छ । यसपटक सिँचाइका ग्राहकले सबैभन्दा बढी लाभ पाएका छन् । उनीहरूको महसुल औसतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो ।

    २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको जानकारी सिंहले दिए ।व्यवसाय सञ्चालनका लागि ४०० भोल्टको थ्रि फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक-फरक महसुल तिर्नुपर्नेछ । यसअघि ४०० युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र ४०० युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो । इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ ।

    यस्तै आयोगले स्ल्याबलाई ६ वटामा झार्ने निर्णय गरेको छ । यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दावी छ । अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । यसैगरी महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । यीभन्दा माथिका २ वटा स्ल्याबमा प्रति युनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ ।

    प्रतिकृया दिनुहोस्