News Portal

टि-२० अन्तर्राष्ट्रिय सिरिज : कतारविरुद्ध नेपालकाे कीर्तिमानी जित

रातोपोस्ट संवाददाता
६५१ पटक

काठमाडौँ, ३० कार्तिक । कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा रनका आधारमा यो अहिलेसम्म कै फराकिलो जित हो । यसअघि सन् २०१९ मा इन्डोनेसिया विरुद्ध नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो ।

कतारको दोहामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४६ रन बनायो । नेपालको टी २० अन्तर्राष्ट्रियमा यो अहिलेसम्म कै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध एक सय २६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । इन्दुले ५५ रन बनाइन् । इन्दु बर्मा महिला टी २० आई सिरिजमा अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेकी छिन् । यसअघि टी २० आईमा सीता राना मगरले इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन उच्च स्कोर थियो ।

तेस्रो नम्वरमा ब्याटिङमा आएकी इन्दुले ४७ बलमा पाँच चौकाको मद्दतले ५५ रन बनाइन् । नेपालको स्कोर आठ रनमा एक विकेट हुँदा क्रिजमा आएकी इन्दुले सिता रानामगरसँग ८८ रनको उत्कृष्ट साझेदारी गरेकी थिइन् । राम्रो सुरुआत गर्न नसकेको नेपालले आठ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर काजल श्रेष्ठ मात्र तीन रनमा आउट भइन्। दोस्रो विकेटका लागि सिता र इन्दुले उत्कृष्ट ८८ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

९६ रनमा दोस्रो विकेट गुमाएको नेपालकी कप्तान रुविना क्षेत्री शून्यमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो । जवाफमा कतार ११ ओभर पाँच बलमा मात्र २७ रनम अलआउट भयो । कतारका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि खदिजा इम्तियाज र एंगिलिना मरीले आठ/ आठ रन बनाइन भने केरीले सात रनको योगदान गरिन । यस्तै, रिज्फा बानोले तीन रन बनाउँदा उसका सात खेलाडीले खाता खोल्न सकेनन् । नेपालका लागि बलिङमा रुविना क्षेत्रीले तीन, कविता कुवँर र सिता रानामगरले दुई/ दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्