News Portal

अझै दलित र गैरदलितबीच भेदभाव

रातोपोस्ट
५०८ पटक

काठमाडौँ, ४ मंसिर । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक-फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले प्रयोग गर्दै आएका छन् ।

तीनै कुवाको पानीलाई एकै ठाउँमा ट्यांकी बनाएर दुई धारा वितरण गरेको एक वर्ष पनि नबित्दै दलित समुदायका विक र आउजीले धारामा पानी बन्द गरी कुवाबाटै पानी ओसार्न थालेका छन् । कथित तल्लो जाति भनिएकाले प्रयोग गर्दै आएको धारामा पानी नआए १ घण्टा टाढाको वनमा जानुपर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीको बागभिडी टोलको यो यथार्थताले पानीको स्रोतमाथिको लडाइँलाई स्पष्ट देखाएको छ । तीन कुवा एकै ठाउँमा छ । त्यसभन्दा माथि नांगो डाँडो छ ।

त्यही नांगो डाडोमा वृक्षरोपण गरेको वर्ष नै सबै विरुवालाई डढेलोले सखाप बनायो । १ सय ५० घरधुरी रहेको बागभिडी टोलमा दुईवटा धारा बनाए पनि खानेपानी अपुग भएको छ । पानीको मुहानमा पानीको मात्रा बढाउन गरिएको वृक्षरोपणको आधा बिरुवा अझै बाँचेका छन् । पुनः वृक्षरोपण गराउन पाए पानीको मुहान बढ्ने अपेक्षा रहेको स्थानीय ३८ वर्षीय जयन्द्र कुँवर बताउँछन् । ‘नांगो डाँडोलाई हरियाली बनाउन सकेमा हामीलाई पर्याप्त खानेपानी पुग्ने थियो,’ स्थानीय कुँवरले भने, ‘हामीलाई बिरुवा मात्रै दिए पनि वृक्षरोपण गरी हरियाली बनाउने थियौं ।’ उनी पानीको मुहान सुकेपछि पानीको स्रोतमाथि लडाइँ भएको बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्