News Portal

सर्वोच्च अदालतमा ४० दिनपछि नियमित सुनुवाइ: १२ फैसला, २९ आदेश

रातोपोस्ट संवाददाता
३३९ पटक

काठमाडौं, १७ मंसिर । आन्दोलनमा रहेका न्यायाधीशहरु इजलास फर्किसके पनि नियमित हुन नसकेको सर्वोच्च अदालतको सुनुवाइ शुक्रबारदेखि पूर्ववत अवस्थामा सुरु भएको छ। सर्वोच्च अदालतमा न्यायाधीशदेखि कानुन व्यवसायीको आन्दोलनले ४० दिनदेखि मुद्दाको सुनुवाइ अवरुद्ध हुँदै आएको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबार गोला प्रथाबाट इजलास गठन गरेर न्यायाधीशहरुले मुद्दा हेरेका हुन्। शुक्रबार एकल र संयुक्त गरी १२ वटा इजलास गठन भएको थियो। ती इजलासमा १३८ थान मुद्दाको पेसी तोकिएको थियो।

पेसी तोकिएकामध्ये १२ वटा मुद्दामा फैसला भएको छ भने २९ वटामा आदेश भएको छ। गोलाबाट पेसी तोकिएको तेस्रो दिन सर्वोच्चमा उपस्थित भएका सबै न्यायाधीशले इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै ‘आन्दोलन’ थालेका थिए।

प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिएका छैनन्। तर, मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गर्दै न्यायाधीशहरु इजलास फर्किएका थिए। इजलासमा फर्केका न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने निर्णय गरेका छन्। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार पनि प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनमा छ। बारले भने प्रधानन्यायाधीश राणाको बहिर्गमन नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताउँदै आएको छ।

प्रतिकृया दिनुहोस्