News Portal

धरान सिटी एफसी बन्यो फाक्तेप गोल्डकप च्याम्पियन

रातोपोस्ट संवाददाता
४९१ पटक

झापा, १८ मंसिर । धरान सिटी एफसी सुनसरीले प्रथम फाक्तेप गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार शिवसताक्षीको बालसेवा आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा सडन डेथमा तुर्केनी फुटबल क्लब काँकरभिट्टालाई ७-६ गोलअन्तरले हराउँदै प्रथम फाक्तेप गोल्डकप गोल्डकपको उपाधि जित्न सफल भएको हो ।

उपविजेता बनेको तुर्केनी फुटबल क्लब काँकरभिट्टाले खेलमा गोलको पहिलो खाता खोलेको थियो । काँकरभिट्टाका लागि पहिलो हाफको १७औं मिनेटमा कप्तान मिलन राईले सुन्दर गोल गरेका थिए । विदेशी खेलाडी यमीले दिएको पासलाई मिलन राईले गोलमा परिणत गरेका थिए । तर, काँकरभिट्टाले खेलमा अग्रता लिए पनि पुनरागमन जित भने धरानकै भयो । धरानले फाइनल भिडन्तसम्म तीन खेल खेल्दा सबै खेलमा कम ब्याक गर्दै जित निकालेको स्मरणीय छ ।

धरानलाई कम ब्याक गराउन विवेक राई नायक बने । उनले खेलको २३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइपुराए । लगत्तै २ मिनेटको अन्तरमा धरानकै विनोद राईले गोल गरेर टिमलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर, खेलको ४५औं मिनेटमा पेनाल्टी प्रहारमार्फत काँकरभिट्टाले २-२ गोलको बराबरी गर्न सफल भयो । धरानका डिफेन्डर इन्सान लिम्बूले काँकरभिट्टाका यमीलाई गोलरक्षक आशिष कार्कीसँगको वान भर्सेज वानको स्थितिमा फाउल गरेपछि काँकरभिट्टाले पेनाल्टी पाएको थियो । जसमा काँकरभिट्टाका कप्तान मिलन राईले व्यक्तिगत दुई गोल गरेका हुन् ।

निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकिलिएको थियो । टाइब्रेकरमा पनि समान ५ -५ गोल भएपछि अन्तिम निर्णय सडन डेथबाट सम्भव भयो । सडन डेथमा काँकरभिट्टाका सुवास लिम्बूको प्रहार क्रस बारमा लागेर बाहिरियो भने धरानका लागि नविन विकको प्रहार गोलमा परिणतहुँदै पहिलो संस्करणको उपाधि धरानलाई दिलाउन सफल भए । खेलको म्यान अफ दि म्याच विजेता टिमका वर्तमान राई घोषित भए । उनले नगद ३ हजार पाए ।

प्रतियोगिताकै उत्र्कृष्ट गोलरक्षक धरानका आशिष कार्की हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी धरानका कप्तान विष्णु सुनुवार घोषित भए । उनीहरुले जनही ७ ७ हजार पाए । यस्तै, बेस्ट डिफेन्स काँकरभिट्टाका विशाल दर्जी, बेष्ट मिडफिल्डर धरानका विवेक राई, र बेष्ट फरवार्ड काँकरभिट्टाका सानुकां लिम्बू घोषित भए । उनीहरुले जनही ५-५ हजार पाए । यसैगरी, राइजिंग खेलाडी आयोजक फाक्तेप फुटबल क्लबका हेमन लिम्बू घोषित भए । उनलाई नगद ७ हजार प्रदान गरियो ।

यस्तै, काँकरभिट्टाका कप्तान मिलन राई सर्वाधिक गोलकर्ता घोषितहुँदै नगद ७ हजार पाउन सफल भए । उनले प्रतियोगिताभर ४ गोल गरेका थिए । विजेता टिमले नगद १ लाख १ हजार प्राप्त गर्दा उपविजेताले नगद ५१ हजारमा चित्त बुझाएको छ । फाइनल खेलको उद्घाटन प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्