News Portal

मुस्लिम समुदायकी २४ वर्षीया डा. अलबिरा बनिन् कांग्रेस प्रदेश सदस्य

रातोपोस्ट संवाददाता
३२४ पटक

रुपन्देही, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा सबैको ध्यान तानेकी उम्मेदवार डाक्टर अलबिरा खान विजयी भएकी छन् । मुस्लिम समुदायका धेरै नारीहरु बुर्का फाल्न नसकिरहेका बेला डाक्टर खान मैदानमा आएर चर्चा बटुलेकी थिइन् । २४ वर्षीया डा. अलविरा एमबीबीएस उत्तीर्ण भएर राजनीतिमा लागेकाले पनि सबैको ध्यान तानिएको थियो ।

निर्वाचित भएपछि अलबिराले मुस्लिम, मधेसी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्ने बताइन् । मुस्लिम समुदायमा अहिले पनि धेरै महिलाहरु खुलेर बोल्न र राजनीतिमा आउन नसकेको समयमा उनले गरेको हिम्मतले चर्चामा कमाएको हो । उनको उम्मेदारीसँगै सामाजिक सन्जालमा चर्चा सुरु भएको थियो । कपिलवस्तुकी अलिविराले मुस्लिम महिलातर्फ प्रदेश सदस्यमा निर्वाचित भएकी हुन् ।

उम्मेदवार भएका नेताहरुमध्ये उनी सबैभन्दा कम उमेरकी भएकाले पनि सबैको चासो बढेको थियो । १३ औं महाअधिवेशनपछि आफू नेपाली कांग्रेसमा क्रियाशील भएको बताउने उनी १८ वर्षदेखि नै राजनीतिमा लागेको बताउँछिन् । आफ्नो बाबा अकिल मियाँको प्रेरणाबाट राजनीतिमा लागेको उनको भनाइ छ । उनले भनिन् ‘बाबा ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्छ । उहाँले देशमा भएका आन्दोलनमा सहभागिता जनाउनुभएको छ, उहाँको प्रेरणाबाट नै म यता लागेकी हुँ ।’

उनका बुवा कांग्रेसको पूर्व क्षेत्रीय सभापति र अहिले महाधिवेशन प्रतिनिधि हुन् । अलबिरा भन्छिन्– ‘म बिरामीको सेवा गर्नेछु, मेरो पेसा डाक्टर नै रहने छ, साथमा म राजनीति पनि गर्नेछु, मेरो परिवारले राजनीतिक गर्नको लागि सर्पोट गर्नुभएको छ, बुबा, मेरो भाइ र बहिनी पनि सबैले साथ दिनुभएको थियो ।’उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरको प्यानलबाट उम्मेदवार बनेकी थिइन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएर उनी प्रदेश सदस्यमा निर्वाचित भएकी हुन् । बंगालादेशको ढाकाबाट एमबिबिएस गरेकी उनी अहिले एमडी गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्