News Portal

कमल थापाको आरोप निराधार र दुर्भाग्यपूर्ण : लिङ्देन

रातोपोस्ट संवाददाता
३५६ पटक

काठमाडाैँ, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्ने निवर्तमान अध्यक्ष कमल थापाको आरोप निराधार र दुर्भाग्यपूर्ण रहेको बताएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा सोमबार पदभारपछि पत्रकारहरुसँग कुरा गर्दै लिङ्देनले महाधिवेशन प्रतिनिधिहरुको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए।

‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन। मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन’ लिङ्देनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुनसक्छ। त्यसमा भन्नु केही छैन। तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो। यो दुभाग्यपूर्ण छ।’

अध्यक्ष लिङ्देनले ज्योतिषीहरुको सल्लाहमा सोमबार बिहान ११ बजेर ५४ बजेको शुभ साइतमा पदभार ग्रहण गरेका थिए। लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी तथा निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए। पार्टी कार्यालय धुम्बाराहीमा थापाले अध्यक्षका रुपमा प्रयोग गरेको कार्यकक्ष उनले प्रयोग गरेनन्। थापालाई कार्यालय आउन कार्यकक्ष सुरक्षित राखिदिएको उनको तर्क थियो। कार्यकर्तालाई सम्बोधन गर्दै लिङ्देनले पार्टीमा पक्ष र बिपक्ष महाधिवशेनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्