News Portal

घरेलु मैदानको जितसँगै मनाङ शीर्ष स्थानमा

रातोपोस्ट संवाददाता
७०२ पटक

काठमाडौँ, ३ पुस । घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अन्जन विष्टको २ तथा वैकल्पिक खेलाडी निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३–१ अन्तरले हराएको हो ।

घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्द दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अन्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहँदा बल पाएका अन्जनले खाली पोष्टमा सहज गोल गरे । ३५औँ मिनेटमा मनाङका डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।

७३औँ मिनेटमा अञ्जनले फ्रि किकमार्फत दोस्रो गोल गर्दै पुनः अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि किक पाएको थियो । अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो । खेलको ८३ मिनेटमा मनाङले ३–१ को अग्रता बनायो । वैकल्पिक खेलाडी निशान लिम्बूले पनि गोल गरे । ओलावालेको प्रहार गोलरक्षक रोशनले पन्च गरेको रिबाउण्डमा निशानले गोल गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगलाई मोफसलमा लगेको हो । घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भयो । जितसँगै मनाङको पाँच खेलबाट १३ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ अंक छ । पराजित पुलिस पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्