News Portal

मेचीनगर र नगर विकास कोषबीच कृषि मन्डी निर्माणका लागि सम्झौता

रातोपोस्ट संवाददाता
६३० पटक

झापा, ६ पुस । मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने मेचीनगर कृषि मण्डी आयोजनाका लागि सम्झौता भएको छ । मेचीनगर नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको नगर प्रमुख विमल आचार्यले जानकारी दिए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य बीच रु.९ करोड ६५ लाख २३ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती र वरिष्ठ प्रशासकीय अधिकृत अन्न्त प्रकाश वस्तीको उपस्थितिमा सम्झौता भएको छ ।

मेचीनगर कृषि मण्डी आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ बताइएको छ । उक्त सम्झौता कार्यक्रममा नगरप्रमुख आचार्यले बृहत नमूना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय र सयममा सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोजना निर्माणबाट मेचीनगर नगरपालिका एक प्रमुख व्यापारिक होल्डिङ्ग सेन्टरको रुपमा विकास हुने विश्वास व्यक्त गरिएको छ , उनले थपे ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट मेचीनगर नगरपालिका एक व्यस्थित राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारिक केन्द्रको रुपमा सबल हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यकारी निर्देशक सापकोटाले नगर विकास कोषको उद्देश्य नै व्यवस्थित शहरीकरणमा नगरपालिकाहरुलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने रहेकोले आगामी दिनमा नगरपालिकासँग शहरी पूर्वाधारका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्