News Portal

प्रेस क्लब मेचीनगरको सातौँ वार्षिक साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
८२५ पटक

झापा, १८ पुस । प्रेस क्लब मेचीनगरको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगर-९ स्थित मागुरमाडी सामुदायिक वन बिट नं.१ को सिमसार क्षेत्रमा शनिबार भब्य कार्यक्रमका बीच साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो । प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं.१ अध्यक्ष लिलाबल्लव घिमिरे रहेका थिए ।

सभामा क्लबका सचिव जीआर धितालले सांगठनिक तथा क्लबकी कोषाध्यक्ष रीता दाहालले आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि घिमिरेले पत्रकारहरुले अब प्रविधिमैत्री बन्दै समयानुकुल बन्न सक्नु पर्ने धारणा राखे । पृथ्वीमा साङ्ग्लो र डाइनोसरसँगै उत्पति भएपनि समयानुकुल चल्न नजान्दा डाइनोसरहरु लोप हुनु परेको दृष्टान्त दिँदै उनले पत्रकारहरुलाई समय सापेक्ष अपडेटहुँदै रिपोर्टिङ्गमा लाग्न आग्रह गरे ।

पत्रकार बनेर दाम र नाम दुबै प्राप्त नहुने भन्दै घिमिरेले नाम, प्रतिष्ठा र सामाजिक उत्तरदायित्व प्राप्त गर्ने किसिमको पत्रकारितामा लाग्न सुझाव दिए । पछिल्लो समय पत्रकारले समाचार भन्दापनि समाचारले पत्रकार खोज्दै आउन थालेको उनको टिप्पणी थियो । सो कार्यक्रममा मन्तव्य राख्दै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारिताको मूल्य, मान्यता र संस्कृती बमोजिम चल्नु पर्ने धारणा राखे । ‘हामीले पत्रकारिता गर्ने या भजनकारिता गर्ने ?’ भन्ने प्रश्न गर्दै अध्यक्ष गिरीले पत्रकारहरुलाई हरेक क्षेत्रमा अध्ययनशील बन्न आग्रह गरे ।

उनले झ्याल र ढोकाबाट पत्रकारहरुलाई महासंघको सदस्यता वितरण गर्ने रीतिको अन्त्य हुने बताउँदै महासंघको सदस्यता प्राप्त गर्न तीन वर्ष कुर्नु पर्ने अवस्थालाई परिमार्जन गर्दै अब हरेक वर्ष महासंघको सदस्यता वितरण गरिने जानकारी दिए । त्यस्तै, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले स्थानीय सरकारले पत्रकारहरुको उत्थानमा सदैव सहयोग पुर्याउने बताइन् ।

त्यसैगरी, प्रेस सेन्टर झापाका संयोजक झुलन रेग्मीले पत्रकारिता क्षेत्रमा निषेधको राजनीति हावी हुने क्रम अझै नरोकिएकोे बताउँदै त्यस्ता चुनौतीहरुलाई सामना गर्दै क्लबलाई आगामी दिनमा समेत सबैको साझा र सबैले अपनत्व हुने किसिमको निर्माण गर्दै लानु पर्ने सुझाव दिए । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पर्वत पोर्तेलले वनभोजसहितको साधारण सभा आयोजना गरेमा क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पत्रकारहरुको लेखन सिप विकास गराउन तालिम तथा अन्तक्रियात्मक कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।

सभामा कार्यसमितिको तर्फबाट तीन वटा बेग्लाबेग्लै प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष लक्ष्मी उप्रेतीले कार्यसमितितर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै क्लबका विगतका गतिविधि तथा आगामी दिनका योजनाहरु प्रस्तुत गरे । उनले क्लबको भवन निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गर्न समितिको प्रस्ताव गरे । साथै दिवंगत सञ्चारकर्मी र उनीहरुका परिवारका नाममा ‘सञ्चारकर्मी तथा परिवार स्मृति स्तम्भ’ मेचीनगर भित्रै निर्माण गर्नसमेत प्रस्ताव गरेका थिए ।

सभाको बन्द शत्रले भवन निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिको संयोजकमा पत्रकार पर्वत पोर्तेल, सदस्यहरुमा पत्रकार झुलन रेग्मी तथा प्रबिन अधिकारीलाई चयन गरेको छ ।

समितिलाई पूर्णता दिन क्लबको कार्यसमितिलाई अख्तियारीसमेत प्रदान गरेको छ । त्यस्तै बन्दशत्रमा मेचीनगरमा रहेका पत्रकारहरुको पेशागत क्षमता विकासका लागि ‘समाचार लेखन तथा रिर्पोटिङ्ग’ विषयक तालिम तथा अन्तक्रियात्मक कार्यक्रमको आयोजना गर्ने निर्णयसमेत भएको छ ।कार्यसमिति सदस्य उमेश खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्