News Portal

मेचीनगरमा आगो निभाउने क्रममा सिलिन्डर पड्किएर १ जनाको मृत्यु, १२ घाइते

रातोपोस्ट संवाददाता
४७३ पटक

झापा, २२ पुस । झापा मेचीनगर-७ पिपलचोकस्थित केशव पाठकको घरमा बुधबार राति लागेको आगो निभाउने क्रममा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु भएको छ । त्यस्तै १२ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालका अनुसार टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएका थिए । घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट हुन गई आगो लागेको थियो ।

आगो निभाउने क्रममा घरमा रहेको दुई वटा ग्यास सिलिन्डर पड्किएको थियो । आगो निभाउने क्रममा मेचीनगर नगरपालिका–८ बस्ने वर्ष ४५ को सारद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास पड्किएर घाइते उनलाई धुलबारीको एन्जल मेडिकलमा लगिएको थियो तर मेडिकलमा पुर्‍याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका बिर्तामोड–९ का २० वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का दिपेन्द्र काकी, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, हरि विक र निर्मल शर्माको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही स्थानका अर्जुन अधिकारीकी छोरी ८ वर्षीय छोरी सुशीला अधिकारी अधिकारी समेत घाइते भएकी थिइन् । स्थानीय शाही सुमिरन मेडिकल इँटाभट्टामा उपचारपछि उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ । मेचीनगरको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिकृया दिनुहोस्