News Portal

गण्डकी प्रदेशमा स्मार्ट लकडाउन कार्यान्वय गर्ने तयारी

रातोपोस्ट संवाददाता
६५१ पटक

काठमाडाैँ, २७ पुस । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । नेपाल सरकारको निर्देशनमा शिक्षा मन्त्रालयले कोरोना महामारीको जोखिम बढेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पनि कडाइका साथ स्मार्ट लकडाउनको प्रक्रिया अवलम्बन गर्ने भएको हो ।

सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समितिको बैठकले ‘कोभिड संक्रमण कार्यविधि २०७८ कार्यान्वयन’लाई थप प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन समिति र स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकले प्रदेशमा सबै प्रकारका भेला, मेला, महोत्सव नगर्न नगराउन आग्रह गर्दै अगामी माघ ७ गतेदेखि सार्वजनिक कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क प्रवेश गर्न कोभिड –१९ विरुद्धको खोपको कार्ड अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ ।

त्यसैगरी बैठकले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने चालक र यात्रु लगायतले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने निर्णय समेत गरेको छ । त्यस्तै कोरोना संक्रमणदर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थानमा हिँड्डुल गर्दा स्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना गर्ने आम सर्वसाधारणमा अनुरोध गर्ने बैठकको निर्णय गरेको छ । बैठकले प्रदेशबासीमा जनचेतना अभिवृद्धि गर्न, प्रदेशमा उपकरणको व्यवस्थापन तथा आपूर्ति गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी प्रदेशमा प्रवेश गर्ने जिल्ला नाकाहरुमा निगरानी गर्ने, सार्वजनिक स्थलहरुमा निःशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसन होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला संकट व्यवस्थापन समितिले समन्वयको व्यवस्था मिलाउनुपर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्