News Portal

सडकले मासिँदै चौतारा र पाटीपौवा

रातोपोस्ट संवाददाता
७३४ पटक

उदयपुर, २८ पुस । जनप्रतिनिधिका नजरमा विकास भनेर सडकबाटो मात्रै प्राथमिकतामा परेपछि गाउँघरका पाटीपौवा र चौताराहरू विस्थापित भएका छन्। साथै, गाउँबस्ती पनि जोखिममा पर्दै गएका छन्।चौतारा मासिँदै जाँदा एउटा गर्विलो इतिहास हराउँदैसमेत गएको छ। नमुना माध्यमिक विद्यालय गाईघाटका प्राचार्य सुवास बिष्ट भन्छन्, ‘अब थकाइ लाग्दा सुस्ताउने चौतारा पनि भेटिँदैनन्। सडक विस्तारसँगै चौतारा विस्थापित भए,’ उनी भन्छन्, ‘वर्षभरि धान फल्ने खेतमा पानी लाग्ने कुलो डोजर लगाएर सडक बनाएकै कारण मासिएका छन्, जसका कारण खेतीयोग्य जमिन बाँझोमा परिणत भएको छ।’

त्यस्तै, विकासका नामा जथाभावी सडक निर्माण गर्दा गाउँघर नै कुरूप बनाएको बताउँछन्, लाफागाउँका भूपिन्द्र थापा। उनी भन्छन्, ‘पहिरोको जोखिमसमेत बढाएको छ। सडक खन्दा अगाडि मन्दिर, विद्यालय, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता गरिँदैन।’ पानीको स्रोत कुवाँ, पधेँराे मठमन्दिर, पाटीपौवा, चौतारा र कुलो मासेर बनाइने सडक विकास हो वा विनाश स्थानीयले छुट्याउन नसकेको उनले बताए।

हचुवाका भरमा डोजर (स्काभेटर) चालकले प्राविधिक रेखदेखबिना सडक खन्दा गाउँ नै कुरुप बनेका छन् भने पहिरोको जोखिममा रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘यसरी जथाभावी सडक खन्ने क्रम नरोकिए थप संकट निम्तिदै जाने र प्राकृतिक स्रोतको विनाश अझ बढ्नेछ ।’

सरकारले सडक बनाउनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (आईईई) अनिवार्य गर्नुपर्ने प्रावधान राखे पनि त्यसको बेवास्ता गरी आफूखुसी सडक बनाउँदा बस्ती थप जोखिममा पर्ने गरेको गैसस महासंघका अध्यक्ष सुमन परियार बताउँछन्। त्यस्तै, आईईई गर्ने खर्चले झण्डै आधा सडक निर्माण हुने त्रियुगा गरपालिकाका मेयर बलदेव चौधरी बताउँछन्।

प्रतिकृया दिनुहोस्