News Portal

भारतीय पक्षबाट कञ्चनपुरको प्याराताल र ब्रहदेबमा अवरोध

रातोपोस्ट संवाददाता
७१६ पटक

कञ्चनपुर, ११ चैत्र । भारतीय पक्षले एकसाथ कञ्चनपुरका दुई स्थानमा अवरोध गरेको छ । जिल्लाको उत्तरी भेग ब्रम्हदेब र दक्षिण विचफाँटा नेपाली भूमिमा अवरोध गरेको हो । भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको ब्रम्हदेब र दक्षिण विचफाँटामा हस्तक्षेप तथा अवरोध गरिरहेको छ ।

पुनर्वास नगरपालिका ९ विचफाँटा स्थित प्याराताल सरसफाईमा एसएसबीले किन सरसफाई गरेको भन्दै रोक्न दवाब दिइरहेको छ भने भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा अस्थायी फड लगाउन रोक लगाएको छ । पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ताल सफाई गर्ने क्रममा एसएसबी आएर आफ्नो भन्दै अवरोध गरिरहेको बताए । ‘हामीले ताल सफाई गर्ने काम सुरु गरेको दुई सातापछि आएर एसएसबीले हाम्रो भन्दै बिहीबारदेखि काम रोकिराखेको छ, ‘उनले भने, ‘फौजका फौज आएर हाम्रो भूमि भन्दै नेपाली भूमिमा अनावश्यक हस्तक्षेप गर्न खोजेका छन ।’

दुई दिनदेखि एसएसबी आएर काम रोक्न दबाब दिने तर नेपाली पक्षले आफ्नो भूमि भएकाले भारतीय हस्तक्षेपको कुनै वास्ता नै नराखेर काम अघि बढाएको अध्यक्ष जैसीले बताए । ‘हामीले अहिलेसम्म ४ सय मिटर ताल सफाई गरिसकेका छौँ, ‘उनले भने, ‘बाँकी ताल सफाई गर्दा दैनिक अवरोध गर्न खोजिएको छ, उनीहरु अवरोध गर्दछ, हामी निरन्तर काम गरिरहेकै छौँ ।’ ताल जलकुम्भी लगायतका झारपातले भरिन थालेपछि सरसफाई गर्न थालिएको थियो । उक्त तालमा समेत भारतीयले यसअघि पनि अवरोध गर्दै आएको छ ।

पुनर्वास नपा ९ विचफाँटा स्थित नेपाली प्यारातालमा सरसफाईमा अवरोध गर्दै भारतीय तर, नेपाली पक्षले निरन्तर सरसफाई गर्दै । हरेक फागु पुर्णिमादेखि औंसीसम्म नेपाल भारत(चम्पावतको पुर्णिागिरी र कञ्चनपुर)को सिद्धबाबा मन्दिरमा लाग्ने पुर्णिमा मेलामा नेपाली ब्रहदेबका व्यवसायीले फड अर्थात अस्थायी पसल राख्ने काममा यस वर्ष भारतीय पक्षले अवरोध गरिरहेको छ । दुई वर्ष कोरोना महामारीले पुर्णागिरी मेला संचालन भएन । भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले भारतीय सीमा सुरक्षा बल आएर नेपाली भूमिलाई आफ्नो भूमि भन्दै हस्तक्षेप गर्न खोजेको बताए । ‘यो धार्मिक आस्था नेपाल भारत दुवै देशका नागरिकको साझा हो, ‘उनले भने, ‘तर भारतीय पक्षले पुर्णागिरी मेलामा नेपाली भूमिकै आएर हस्तक्षेप गर्न खोजिरहेको छ, त्यो गलत गरिरहेको छ ।’

शुक्रबार एसएसबीको डफ्फा आएर नेपाली व्यवसायीलाई आफ्नै भूमिमा फड लगाउन रोकेर फर्किएका थिए । भारतीय पक्षले कञ्चनपुरमा पटक पटक अवरोध गर्दै आएको छ । छिमेकीको जस्तो व्यवहार नभई भारतले पटक पटक अनेकन निहुँ खाजेर नेपाली भूमिमा हुने विकास निर्माण एव काममा समेत हस्तक्षेप गर्दै आएको भन्दै स्थानीयले भारतीय कदमको भत्र्सना गरेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले ब्रम्हदेब र विचफाँटामा देखिएको विवाद समाधानका लागि प्रशासनबाट पहल भइरहेको बताए । ‘सीमा विवाद संघ सरकारले टुङग्याउने हो, ‘प्रजिअ पाण्डेले भने, ‘सीमा क्षेत्रमा उत्पन्न असहज अवस्था प्रशासनबाट सामाधान गर्न पहल गर्दैछौँ ।

प्रतिकृया दिनुहोस्