News Portal

अमृता मृत्यु प्रकरण: प्रदर्शनकारी माथि प्रहरीको लाठीचार्ज, कयौँ घाइते

रातोपोस्ट संवाददाता
४९७ पटक

काठमाडाैँ, ३ बैसाख । बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार राति करिब १० बजेको समयमा २९ वर्षीया अमृता खत्रीको मृत्यु भएको थियो । मृतकका श्रीमान्सहितका परिवारजनले उनले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उनको सुनियोजित हत्या भएको भन्दै दोषी माथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

यही क्रममा शुक्रबार दिउँसो बुटवल इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरूले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको थियो । समाचार सङ्कलन गर्न गएका आधा दर्जन बढी पत्रकारहरूलाई समेत प्रहरीले हातपात गरेको छ । प्रहरीले ज्यादती गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रुपन्देही लगायतका विभिन्न सङ्घ संस्थाले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेका छन् ।

प्रहरीको कुटपिट गर्दा मृतक अमृताका काका छोरा दाजु कमल खत्री र काकी हुमकला खत्री लगायत दर्जनौँ घाइते भएका छन् । मृतक अमृताका दाजु पुष्पक खत्रीले न्याय माग्न गएका आफूहरूलाई प्रहरीले निर्घात कुटपिट गरेर थप पीडा दिएको मानवअधिकारवादी सङ्घ संस्थाले प्रहरी ज्यादतीको छानबिन गरी कारबाहीको दायरमा ल्याउनु पर्ने माग गरे ।

यता बुटवल इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी ठगबहादुर केसीले भने प्रदर्शनकारीहरू स्वयम् उत्तेजित भएपछि बल प्रयोग गर्नुपरेको प्रतिक्रिया दिए । उनले भने, ‘मृतकका माइती पक्षको उजुरीका आधारमा मृतकका श्रीमान् प्रेम टण्डन , ससुरा पहलसिंह टण्डन र सासू दीपा टण्डनलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालेका छौँ । मुद्दा दर्ता गरी म्याद थप गरिरहेको अवस्थामा आरोपितको घर तोडफोड गर्ने प्रयास गर्नुका साथै र प्रहरी कार्यालयमा समेत ढुङ्गा मुढाको प्रयास हुन थाले पछि बल प्रयोग गर्न बाध्य भयौँ । त्यस क्रममा केहि पत्रकारहरू समेत परेको भन्ने बुझिएकोले मैले माफी मागी सकेको छु ।’

माइती पक्षको दाबी

मृतक अमृताका दाजु पुष्पक खत्री बहिनी अमृतालाई ज्वाइँ प्रेम टण्डन लगायतका परिवारजनले हेला गर्दै आएको दाबी गर्छन् । गत मङ्सिर महिनामा पनि अमृता वडा कार्यालयमा उजुरी लिएर गएको उनको भनाइ छ । उनले भने, ‘कार्यालयले मेलमिलाप गराएर पठाए पनि अमृता घरमा थप पीडित हुँदै आएकी थिइन् । नयाँ वर्षको अघिल्लो दिन साँझ साढे आठ बजेसम्म उनी माइती मै थिइन् । सो समयमा उनका श्रीमान्ले फोन गरेर घर आउन बोलाए । नआउने भए घरमा रहेका उनका छोरालाई जे पनि गर्न सक्ने धम्की दिए उनी घर पुगेकी थिइन् ।’ साँझ ९ बजेर ३१ मिनेट जाँदा आफू घरमा असुरक्षित भएको भन्दै अमृताले एसएमएस गरेको उनको दाबी छ । त्यसको ४५ मिनेट पछि उनको मृत्युका खबर उनकै श्रीमान्ले दाजुलाई दिएका थिए । त्यस पछि अमृतको सुनियोजित हत्या नै भएको दाबी गर्दै माइती पक्ष घर घेर्न पुगेका थिए । अमृताको माइती घर गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ बम्घा खैरेनी वारी हो । उनका श्रीमानको घर पनि गुल्मी कै चारपालामा हो । उनका साढे सात वर्षका छोरा छन् ।

प्रतिकृया दिनुहोस्