News Portal

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्छ : अर्थमन्त्री शर्मा

रातोपोस्ट संवाददाता
५०६ पटक

काठमाडाैँ, २० बैसाख । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न लेखापरीक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

उनले भने, ‘अब हामीले राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएकाले यहाँहरूको ध्यान त्यतातिर केन्द्रित गर्न चाहन्छु । हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखापरीक्षणवालाहरूले परीक्षण गर्नुपर्ने वेला भयो । विभिन्न क्षेत्रको लेखापरीक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ । हाम्रा हिमालहरू, तराई, पहाड, नदीहरू र हाम्रो झरनाहरूको मूल्य कति हो ? हाम्रा श्रमिकहरू, युवाहरूको मूल्य कति हो ? त्यसको मूल्य पहिचान गरेर लेखापरीक्षण गर्नुपर्ने वेला भएको छ ।’

उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति यकिन गर्न सक्नुपर्ने उनले बताए । मुलुकभित्रका हिमालहरू, तराई, पहाड, नदीहरू, झरनाहरू, श्रमिक र युवाहरूको मूल्य पहिचान गरेर लेखापरीक्षण गर्नुपर्ने वेला आएको उनले बताए ।
शर्माले मुलुकको राष्ट्रिय स्वाधीनता जोगाउन र आत्मनिर्भर बनाउन आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको बताए ।

प्रतिकृया दिनुहोस्