News Portal

काठमाडौँमा नेकपा (बहुमत) द्धारा मूल्यवृद्धि विरुद्ध सिठी जुलुस

रातोपोस्ट संवाददाता
४५९ पटक

काठमाडौँ, १० जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सिठी जुलुस निकालेको छ । पार्टीको आयोजनामा मंगलबार दिउँसो काठमाडौँमा जुलुस निकाएिको हो । शान्ति बाटिकाबाट सुरु भएको सिठी जुलुस बसन्तपुर हुँदै घण्टाघर, जमल हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट अखिल क्रान्तिकारीका संयोजक मिलन राईले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतामारा काम गरेको बताए ।

उनले इन्धनको मूल्य बढेपछि सबै बस्तु तथा क्षेत्रको मूल्यवृद्धि हुने भएकोले जनता प्रत्यक्ष मारमा पर्ने बताए । इन्धनमा लगाएको अनावश्यक कर हटाएर मूल्य समायोजना गर्न सरकारसँग माग गर्दै राईले जनताको आवाज नसुनेर सरकारले मनपरी मूल्यवृद्धि गरिरहे आन्दोलनको आँधीबेहरी आउन सक्ने चेतावनी दिए । नेकपा बहुमतले महंगी र राष्ट्रियताको सवालमा सडक संघर्ष गर्ने निर्णय समेत गरेको छ । नेकपा बहुमतले मूल्यवृद्धि फिर्ताको लागि चरणवद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले विज्ञप्ति जारी गरेर सिठी जुलुसदेखि चक्का जामसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्