News Portal

काँकरभिट्टामा राप्रपाद्वारा पेट्रोलियम पदार्थकाे मुल्यबृद्धिकाे विराेधमा प्रदर्शन

रातोपोस्ट संवाददाता
५२८ पटक

झापा, १३ जेठ । राप्रपा मेचीनगरले पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोधमा काँकरभिट्टामा प्रदर्शन गरेको छ । सरकारले पटक–पटक पेट्राेलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै राप्रपाले काँकरभिट्टामा विरोध प्रदर्शन गरेको हो । सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेकाले आफ्नो पाटीले विरोध गरेको राप्रपा मेचीनगर समितिका अध्यक्ष सबिना बजगाइले बताइन् ।

उनले सरकारले जनताको मतलव नगरेर मूल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिइन् । प्रदर्शनमा सहभागि राप्रपाका युवक संगठन अध्यक्ष गोविन बुढाथोकीले हालै भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै उनले जनताको सेवा गर्न नसक्ने भए राजीनामा दिन शासक दलहरुलाई आग्रह गर्दै अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको र यदि मुल्यबृद्धि फिर्ता नभए राप्रपाले विराेधका कार्यक्रमहरु गरिरहने बताए ।

काँकरभिट्टाबाट शुरु गरिएको जुलुस सहितको प्रदर्शनमा सहभागि प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, सरकार तेराे पाराले दुख पायाे साराले, जनतालाई सास्ती कहिले सम्म, नाफा घाटा जान्दानौ मूल्य वृद्धि मान्दैनौ, राप्रपा जिन्दावाद लगाएतका नारा लगाएका थिए ।

कार्यक्रममा युवक संगठनका जिल्ला सचिव बिनाेद रिमाल, महिला संगठनका नगर अध्यक्ष निमिसा प्रधान, बिधार्थी संगठन नगर अध्यक्ष रोशन तिम्सिना, बिधार्थी संगठनका जिल्ला सदस्य सजय मैनाली, धार्मिक संगठनका नगर अध्यक्ष गिरिराज मणि पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा नगर अध्यक्ष सबिना बजगाइ र दिवाकर काफ्लेले सम्बाेधन गरेका थिए भने सञ्चालन विशाल कृष्ण बास्ताेलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्