News Portal

पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!

रातोपोस्ट संवाददाता
३६७ पटक

काठमाडौं, १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरलाइन्सको ९ एनएइडी विमान बेपत्ता भएको पाँच घण्टा भइसकेको छ। मुस्ताङको लेते क्षेत्रमा दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म आधारिक खबर आएको छैन।

अहिले सेनाको एमआई–१७ हेलिकोप्टर हराएको जहाज खोजीका लागि रेस्क्युदलसहित पोखराबाट मुस्ताङतर्फ लागेको छ। तर, यता सामाजिक सञ्जालमा भने विमानमा सवार यात्रुलाई श्रद्धान्जली दिनको भने होड चलेको छ। अपुष्ट खरबकै आधारमा दुर्घटना एकिन नभइकनै जहाजमा सवार यात्रुप्रति सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेमा राज्यकै जिम्मेवार निकायमा बसेकाहरू छन्। जसमा मुख्यमन्त्रीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुत्री गंगा दाहालसम्म छन्।

उनीहरूले सामाजिक सञ्जालमा जहाज दुर्घटना ग्रस्त भएको भन्दै यात्रुलाई श्रद्धाञ्जली दिएकै कारण आम मानिसले घटनाको पुस्ट्याँइ नगरी हतारमा श्रद्धाञ्जली दिइरहेका छन्।यता नेपाली सेनाले भने जहाजका चालकदलका सदस्यको फोन लागिरहेकाले उक्त क्षेत्रमा लोकेशन ट्रयाक गरिरहेको बताएका छन्। तर, दुर्घटना नै भएको हो कि होइन भन्ने एकिन भएको छैन।

यता प्रचण्डपुत्री गंगा दाहालले त सामाजिक सञ्जालमा दुई घण्टा अघि नै जहाज दुर्घटनामा परेको दावी गर्दै सवार यात्रुलाई श्रद्धाञ्जली दिइसकेकी छिन्। यस्तै श्रद्धाञ्जली दिने दौडमा कर्णाली प्रदेशकै मुख्यमन्त्री जीवनबहादुर शाही पनि पछि परेनन्। उनी पूर्व पाइलट समेत हुन्।

शाहीले भारतको हेलिकोप्टर दुर्घटनाको तस्वीरसहितको टिकटक फेसबूकमा शेयर गर्दै श्रद्धाञ्जली दिएका छन्। यसमा बागमती प्रदेशकै युवा तथा खेलकुद मन्त्री रत्न ढकाल पनि पछि परेनन्। उनले पनि तारा एयरको जहाज दुर्घटना भएको र जहाजमा सवार १९ यात्रु तथा चालकदलका तीन सदस्यको मृत्यु भएको भन्दै श्रद्धाञ्जली दिएका छन्।

श्रद्धाञ्जली दिने दौडमा हालै निर्वाचित धरानका मेयर हर्क साम्पाङ पनि हुन्। उनले आफ्नो श्रद्धाञ्जली दिँदै फेसबूकमा लेखेका छन्, ‘थोत्रा हवाइजहाज बिसर्जन गर्न गराउन नेपाल सरकारलाई अनुरोध गर्दछु,’ उनले लेखेका छन् । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अधिकांशले पोस्ट डिलिट गरेका छन्।

तर, खबर पुष्टि नहुँदै श्रद्धाञ्जली दिने होड यो नौलो भने होइन। यसअघि भने विभिन्न दुर्घटनाको पुष्टि नभइ सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाटै आउने गरेको थियो। मौसम खराब भएका कारण सेनाले सम्भावित दुर्घटनास्थलमा जान नसकिएको बताएको छ।
स्थानीयले विमान दुर्घटना भएजस्तो चर्को आवाज आएको बताएपछि सोही अनुसार जिम्मेवार व्यक्तिले नै खबरको पुष्टि नगरी सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका हुन्।

प्रतिकृया दिनुहोस्