News Portal

मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
५०८ पटक

झापा, ३१ जेठ । झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआली झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचेलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ५२ मिली ग्राम ब्राउन सुगर, नगद ७३ हजार, एउटा मोबाइल र डिजिटल मिनी तराजु फेला परेको थियो ।

मेचेसँगै रहेको सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्