News Portal

काँकरभिट्टा लागूऔषधको खतरा जोनमा : डिएसपी महतो

रातोपोस्ट संवाददाता
२५८ पटक

झापा, १२ असार । भारतबाट लागुऔषध भित्रिने मुख्य चार वटा नाकाहरु मध्ये काँकरभिट्टा पनि एउटा मुख्य नाका रहेको एक तथ्याङ्कले पुष्टि गरेको छ । आइतबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा भएको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सो कुरा सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी ज्ञानकुमार महतोले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको कार्यक्रममा सो कुराको प्रोजेक्टर मार्फत प्रस्तुतीकरण गरेका थिए । भारतबाट नेपाल भित्रिने मुख्य ४ वटा नाकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा र काँकरभिट्टा नाका लागूपदार्थ कारोबारीको मुख्य अखडा रहेको उनले बताए ।

‘काँकरभिट्टा लागुऔषधको खतरा जोनमा छ’, डिएसपी महतोले भने–‘बागमती प्रदेशपछि प्रदेश नम्बर १ लागुऔषधको अखडा बन्दै गएको छ । सेवनकर्ता र कारोवारीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सबैको साथ र सहयोगको खाँचो छ ।’ उनका अनुसार मादक पदार्थ सेवन(मापसे) गर्ने भन्दा पनि लागुपदार्थ सेवन (लापसे) गर्नेहरुको संख्या बढ्न थालेको छ । ‘मापसे चेक गर्ने ब्रेथलाईजनर फेल भइसक्यो’, डिएसपी महतोले भने–‘अब किटबाट लापसे चेक गरिने छ ।’ उनले लागुऔषधको कुलतमा फसेकाको उद्दार र नियन्त्रणका विषयमा प्रोजेक्टर मार्फत प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताए । नगर प्रमुख बुढाथोकीले भने–‘अभिभावकले छोराछोरीको निगरानी गर्नुपर्छ । के खायो, के गर्दैछ, स्कुल गयो गएन लगायत कुरामा ध्यान दिन आवश्यक छ ।’ अहिले सञ्चालन भएका सुधार केन्द्र भन्दा अलिक उच्चस्तरीय केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउँदै बुढाथोकीले समुदाय, प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले लागुऔषधको दुव्र्यसन रोक्ने मात्र होइन यसलाई निमिटेन्न पार्न जरुरी रहेको बताइन् । ‘मेचीनगर दुव्र्यसनीको हव बन्दै गएको छ’ उपप्रमुख उप्रेतीले–‘पूर्वाधार विकासमा मात्र होइन मानव संशाधनमा समेत जोड दिनुपर्छ ।’ कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतो, सशस्त्र प्रहरी बल काँकरभिट्टा विओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, मेची समुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल लगायतले लागुऔषध नियन्त्रण र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।

चेतामुलक नारा लेखिएका प्लेकार्ड, व्यानरसहित काँकरभिट्टा बजारको परिक्रमा पश्चात मेची सामुदायिक भवनमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो । र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो । केन्द्रका अध्यक्ष बुद्नािनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले र सञ्चालन सीमा प्रहरी चौकी नकलबन्दाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक मानबहादुर मिश्रले गरेका थिए ।

प्रतिकृया दिनुहोस्