News Portal

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला निलम्बित

रातोपोस्ट संवाददाता
२७५ पटक

काठमाडौं, १३ जेठ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन्। आर्थिक लेनदेन बार्गेनिङको अडियो बाहिरिएपछि कोइराला विवादमा तानिएका थिए।न्यायपरिषद् बैठकले छानबिन समिति बनाएर उनलाई निलम्बित गरेको हो। छानबिन समिति गठनबारे सोमबार राजपत्रमा सूचना प्रकाशित भएको हो।

राजपत्रमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गरी निज न्यायाधीश राजकुमार कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेकोलगायतका विषयमा न्याय परिषद ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैंतालिस दिनभित्र प्रतिवेदन पेश गर्ने र सो समयसम्म प्रतिवेदन पेश गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्ने गरी सोही ऐनको दफा बमोजिम न्याय परिषदका माननीय सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका माननीय कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी विज्ञ सदस्य र उच्च अदालत पाटनका माननीय न्यायाधीश महेश शर्मा पौडेल विज्ञ सदस्य रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेकोले यो सूचना प्रकाशन गरिएको छ।’

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुस बार्गेनिङ भएको अडियो बाहिरिएको थियो।

प्रतिकृया दिनुहोस्