News Portal

झापामा ‘रिङ रेस्लिङ च्याम्पियनसिप’ हुँदै

रातोपोस्ट संवाददाता
३०४ पटक

झापा, १५ असार । ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तरगत आयोजना हुने सो प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो ।

प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँचवटा विधामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् ।

केरखा स्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्ट लगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुनेछ ।

नेपालमा लामो समयदेखि रिङ रेस्लिङ खेलको विकास एवम प्रवर्द्धनमा लागि परेको संघले यो प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने श्रेष्ठको भनाई छ ।

‘विश्वमा नै आकर्षणको रुपमा रहेको सो खेलको नेपालमा विकाससँगै व्यावसायिक खेलाडी उत्पादनमा संघले भूमिका खेलेको छ’, उनले भनिन् ‘यो प्रतियोगिता समेत त्यसतर्फ उन्मुख हुनेछ ।’

उनले झापामा हुने यो खेललाई अवलोकन गर्न खेलप्रेमीहरु सो स्थान पुग्ने र अन्य जिल्लामा जस्तै यहाँ पनि उत्तिकै माया पाउने विश्वास व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस्