News Portal

साहित्यकार दाहालको तीनवटा कृति एकै पटक विमोचन

रातोपोस्ट संवाददाता
६२५ पटक

झापा, १८असार । झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिवार एकै पटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधे निवासी दाहालको वाल गीति कविता सङ्ग्रह ‘बाल संसार’ राष्ट्रिय गीत सङ्ग्रह ‘हाम्रो टोपी’ र कविता सङ्ग्रह ‘स्वानुभूति’को विमोचन भएको हो ।

नेपार प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा देवी नेपालले सतासीधाम साहित्य संगमले आयोजना गरेको कार्यक्रममा साहित्यकार दाहालका तिम्ल्याहा कृतिको विमोचन गरेका हुन् । यस अघि दाहालको कथा सङ्ग्रह ‘दश कथा’ बजारमा आएको थियो ।

शिक्षण पेसाबाट सेवा निवृत्त दाहाल साहित्य र समाजसेवामा पछिल्ला दिनमा सक्रिय छन् । सेवाबाट निवृत्त भएपछि बचेको समय साहित्य सृजना र समाज सेवामा लगाउँदै आएका दाहालले एकै पटक तीनवटा कृती बजारमा ल्याएपछि झापाली साहित्य सर्जक खुसी देखिएका छन् ।

राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको हल झापाली साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको सहभागिताले भरिएको थियो । एक दशकको अवधिमा शिवसताक्षी नगरमा साहित्य क्षेत्रका गतिला कार्यक्रम हुन सकेका थिएनन् । लेखक पदम दाहालले भने, ‘कवि दाहालका कृतिले यो क्षेत्रको साहित्य गतिविधिको खडेरीलाई पुनर्जागृत गरेको छ ।’ कवि दाहालले बजारमा ल्याएका तीन वटै सङ्ग्रह विद्यालयका बालबालिकाका लागि अधिक उपयोगी हुने दाहालले बताएका छन् र

दाहालको बाल गीति कविता सङ्ग्रहमा ९१ वटा कविता छन् । सबै कविता बाल लयमा गाउन सकिने लेखकले बताएका छन् । गीति कविता सङ्ग्रहमा कवि दाहालले आफ्नै भूगोलका धार्मिक तथा पर्यटकीय क्षेत्र, मठ मन्दिर, विद्यालय, बजार र बालबालिकाले दिनहुँ प्रयोग गर्ने वस्तुलाई प्राथमिकता दिएर समेटेका छन् ।

यस्तै स्वानुभूति कविता सङ्ग्रहमा पचास वटा कविता समेटिएका छन् । उक्त सङ्ग्रहका समीक्षक साहित्यकार दिनानाथ सुवेदीले झापाली कविलाई स्वानुभूति भित्रका कविताले लामो समय देखिको कविताको प्यास मेट्न सक्ने बताए । उनले भने, ‘आफ्नै परिवेश र जीवन सँग मिलेका कतिपय व्यवहारलाई कवि दाहालले कर्ण प्रिय शब्द संयोजन गरेर कवितामा उतार्नु भएको छ ।’

स्वानुभूती कविता सङ्ग्रहमा मानिस भित्र हुने विचार र मनका भावनाहरू शब्द चित्रका रुपमा समेटिएका छन् । वरिष्ठ साहित्यकार कोमल प्रसाद पोखरेल भन्छन् ‘स्वानुभूतिमा कविले व्यक्त गरेका भावनाहरू सरल र सरस का साथै सामान्य पाठकले पनि सजिलै बुझ्न सक्छन् ।’

पोखरेलका अनुसार कविताहरूको भाव पक्ष काव्यको आत्मा हो भने छन्द, लय, अलङ्कार जस्ता कुराहरू यसका शारीरिक अवयव हुन् । यसमा प्रायः एक पृष्ठका कविता भएको हुनाले त्यसलाई पढी सिद्ध्याउन पाठकले आङ तानिरहनु पर्दैन । यो पनि कवि दाहालले सृजना गरेको स्वानुभूतिको विशेषता हो ।

सङ्गीतकार रामचन्द्र अन्जानले कवि दाहाल लामो समय सम्म बालबालिका सँग व्यतीत गरेका कारण वाल गीति कविता सङ्ग्रह प्रकाशन गरेर साहित्य क्षेत्रमा एक नक्षत्रका रुपमा स्थापित भएको बताए । उनले भने, जीवनको लामो समय बालबालिकासँग बिताएकोले उनका गीतहरू बालबालिका जस्तै निर्दोष र चञ्चले छन् ।

कार्यक्रम सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता, उपाध्यक्ष पदमप्रसाद दाहालको स्वागत र सचिव यादव घिमिरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीति सङ्ग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत सङ्ग्रहको नेपालको माटो गाएका थिए । यस्तै सर्जकले कविता, गजल सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्