News Portal

जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

रासस
३०४ पटक

झापा, २६ असार । गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६ बजेको समयमा प्रहरीलाई जानकारी आएलगत्तै बिर्तामोडबाट गएको प्रहरी टोली घटनास्थलमा पुग्यो । पानीले आधा डुबेको अवस्थामा रहेको उक्त बोरा बाहिर तानेर खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव रहेको देखियो । अनुहारमा घाउचोट जस्तो देखिने मृतकको शरीरभरि नै रौं थियो, जुङ्गा पालेको थियो, दाह्री भने काटिएको थियो ।

शव भेटिएपनि शवको पहिचान खुल्ने कुनै कागजात प्रहरीसँग थिएन । एउटा गुलाबी छिर्केमिर्के सर्ट र सेतो धर्का भएको ट्राउजर बाहेक प्रमाण लाग्ने वा सनाखत हुने अन्य कुनै कुराहरू थिएन । घटनास्थल वरपर कुनै व्यक्ति हराएको सूचना नआएको कारण तत्काल शव कसको हो भन्ने पहिचान खुल्न सकेन ।

प्रहरीले असार १३ गते नै अज्ञात व्यक्तिको शव भेटिएको बारे प्रेस विज्ञप्ति पठाएपछि त्यो समाचार सबैजसो सञ्चारमाध्यममा प्रकाशित भयो । यता प्रहरीले शवसँगै बरामद गरेको बोराबाट अनुसन्धान सुरु गर्‍यो । मृतकको शव राख्न जुन बोरा प्रयोग भएको थियो, त्यो मुरई कम्पनीको बोरा थियो । उक्त बोरामा फोन नम्बरहरू पनि थियो । प्रहरीले अनुसन्धानको सुरुवात बोराबाटै सुरु गर्‍यो । त्यो बोरा कहाँ बनाउँछ भनेर त्यसको फ्याक्ट्री खोज्यो, मुरई कहाँ कहाँसम्म पुराउँछ भनेर त्यो पनि खोज्यो । त्यसका होलसेलर र रिटेलर को को छन् भनेर पनि अनुसन्धान गर्‍यो । प्रहरीले प्राविधिक पक्षबाट पनि घटनाको अनुसन्धान गर्‍यो । तर पनि मृतक र घटनामा संलग्नबारे कुनै जानकारी पाउन सकेन । प्रहरीको अनुसन्धान मृतकको पहिचान खोज्नमै केन्द्रीत रह्यो ।

प्रहरीलाई आएको त्यो क्लु

बोरामा पोको पारेर फालिएको शवको बारेमा सञ्चारमाध्यममा समाचार आएपछि झापाकै एक व्यक्तिले बिर्तामोडका डीएसपीलाई फोन गरेर एकजना भारतीय नागरिक केही दिनदेखि सम्पर्कविहीन भएको र कतै ती मृतक तिनै भारतीय पो हुन् किन भनेर चासो राखे । प्रहरीले ती व्यक्तिको नाम र फोटो छ भनेर सोधे । सूचना दिने व्यक्तिले ती व्यक्तिको नाम जापडिया नरेशकुमार बाबुभाइ रहेको भन्दै नामसहितको आधार कार्ड र फोटो पठाइदिए । प्रहरीलाई प्राप्त फोटोमा देखिएको जुँगाको आधारमा प्रहरीलाई मृतक र हराइरहेका व्यक्ति एकै हुन् भन्नका कुनै समस्या रहेन ।

फोटोसँगै ती व्यक्तिको झापाकै अर्जुनधारामा एक गर्लफ्रेण्ड पनि रहेको र गर्लफ्रेण्डको नाम जानुका रहेको सुराक दिए । अनि जानुकाको माइतीको थर थाहा नभएको तर थापासँग विवाह गरी बसेको जानकारी आएपछि प्रहरीले जानुका भन्ने पात्रको खोजी सुरु गर्‍यो ।

सुरुमा शव भेटिएको वरपर जानुकाको खोजी गरेको प्रहरीले त्यसक्षेत्रमा जानुका नाम गरेको व्यक्ति र घटनामा संलग्नता खोज्न सकेन । त्यसपछि प्रहरीले झापाको जानुका थापा भन्ने व्यक्तिको फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको खोजी गर्‍यो । त्यसलगत्तै जानुका सुवेदी थापा भेटिइन् । तर प्रहरीसँग जानुकाको मोबाइल नम्बर थिएन । त्यसपछि प्रहरीले विभिन्न स्रोत प्रयोग गरेर जानुकाको मोबाइल नम्बर प्राप्त गर्‍यो ।

फोन नम्बर पाएलगत्तै असार १८ गते डिएसपी रुगम कुँवर आफैले जानुकालाई फोन गरेर आफू बिर्तामोडको डिएसपी बोलेको, तपाईंसँग केही कुरा गर्नुछ भने । आफू डिएसपी भन्ने बित्तिकै जानुकाले फोन काटिन् र मोबाइल अफ गरिन् । त्यसलगत्तै प्रहरीलाई हत्यामा उनकै संलग्नता भएको हुनसक्ने शंका झनै बढ्यो । प्रहरीले जानुकालाई सम्पर्क गरिरह्यो । तर करिब आधा घण्टासम्म जानुकाले मोबाइलको स्वीच अन गरिनन् । पछि मोबाइल अन गरेपछि प्रहरीले फेरि सम्पर्क गरेर ‘तपाईं कहाँ हुनुहुन्छ, म त्यहीँ आउँछु । नत्र हतकडी लगाएर ल्याउन नपरोस्’ भनेपछि जानुकाले प्रहरीलाई आफ्नै घरमा बोलाइन् ।

डिएसपी कुँवर आफै जानुकाको घरमा गए र जानेबित्तिकै जानुकाको मोबाइल मागेर हेरे । तर जानुकाले मोबाइल फम्र्याट गरिसकेकी थिइन् । त्यहाँ रहेका फोटोहरू सबै डिलिट भइसकेको थियो भने ह्वाट्सएप पनि प्रयोग गरिएको थिएन । तर जानुकाको मोबाइलमा दुईवटा फोटो भने भेटियो । दुईमध्ये एउटा फोटो बोरामा प्याक गरिएको जापडियाको शवको फोटो थियो भने दोस्रो फोटो अर्जुनधारामा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको पहिचान नखुलेको शवको सम्बन्धमा आएको समाचारको स्क्रिन सट थियो ।

त्यसपछि प्रहरीले घरभित्रका कोठाहरू हेर्न थाले । एउटा कोठामा नयाँ कार्पेट, नयाँ तन्ना आदि राखिएको देखियो । त्यही बेला कोठामा आएका एक बालकलाई कार्पेट, तन्ना कहिले फेरेका भनेर सोध्दा तीनचार दिनअघि फेरेको जवाफ दिए । अनि कोठाको कुनातिर कपुर नै कपुर राखिएको देखियो । नयाँ कार्पेट, नयाँ तन्ना, कपुर आदि सबै देखेपछि प्रहरीलाई यकिन भयो कि हत्या त्यही कोठामा भएको थियो । हत्या हुँदा निस्किएको रगतको गन्ध हटाउन कपुर प्रयोग गरिएको र रगत लागेको कारण नयाँ तन्ना र कार्पेट फेरिएको बुझ्न प्रहरीलाई गाह्रो परेन । त्यसलगत्तै प्रहरीले बाहिर रहेका जानुकाका श्रीमान्लाई पनि घरमा बोलाए र दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याए ।

अनि सुरु भयो विस्तृत सोधपुछ

इलाका प्रहरी कार्यालय ल्याउनेबित्तिकै जानुकाका श्रीमान ४९ वर्षीय वृखबहादुर थापालाई हिरासतमा पठाएर जानुकालाई मात्रै सोधपुछ सुरु गरियो । तर महिलाले एक घण्टासम्म घटनामा संलग्नता नरेको बताइरहिन् । बरु ती भारतीयसँग अर्को मान्छे पनि आएको र उनीहरू असार ९ गते नै घरबाट निस्किएको भन्दै घटनाबारे केही कुरा थाहा नभएको बताइरहिन् ।

तर प्रहरीले घटनामा संलग्नताको आधार एकपछि अर्को बताउँदै घरमा नयाँ कार्पेट, कपुर आदिको सबै कुरा निकालेपछि करिब एक घण्टापछि बल्ल आँशु झार्दै ‘मैले पनि होइन र मेरो लोग्नेले पनि होइन, दुई जना केटाहरूले मारेका हुन्’ भनेर स्वीकार गरिन् ।

‘को हुन् ती केटाहरू ?’ भनेर सोध्दा जानुकाले सुरेश परियार र शैलेश सापकोटाको नाम लिइन् । तर केटाहरूले किन मारे त भन्दा मलाई यौन दुव्र्यवहार गर्‍यो त्यो पनि मेरो लोग्ने कै अगाडि त्यही भएर मार्ने योजना बनाएको भनेर जानुकाले प्रहरीलाई बयान दिइन् । साथै उनले ५ लाख दिने शर्तमा मार्न लगाएको खुलाइन् । शैलेश जानुकाको भदा थिए भने सुरेश परियार सुपारी दिइएका एक हत्यारा थिए ।

वेश्यालयदेखि हत्यासम्मको शृङ्खला

झापाको अर्जुनधारा नगरपालिका–७ साहसी टोलमा भेटिएको भारतीय नागरिक जापडियाको हत्याको कारण गुजरातकै एक वेश्यालय थियो । वेश्लायमै भएको भेट प्रेम हुँदै हत्यासम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जानुका थापा २०७६ को मङ्सिर÷पुस महिनामा अफ्रिका जाने भन्दै नेपालका केही दलालहरूका साथ नयाँ दिल्ली पुगेकी थिइन् । तर अफ्रिका नलगेर दिल्लीमा करिब दुई महिना राखेपछि जानुकालाई दलालले गुजरातको वेश्यालयमा पुर्यायो ।

गुजरातकै स्थायी बासिन्दा जापाडिया नरेश कुमार बाबु भाइ उक्त वेश्यालयमा पुग्दा जानुकासँग भेट भयो । जानुकाले आफूलाई फसाएर कसैले यहाँ ल्याएको बताएपछि जापडियाले जानुकालाई त्यहाँबाट उद्धार गरेर गुजरातमै एउटा फ्ल्याटमा लिएर राखे । गुजरातमै करिब डेढ महिना फ्ल्याटमा राखेपछि जानुकाले जापडियालाई फकाएर नेपाल जाने र सम्बन्धमा रहिरहने बताइन् ।

जानुकाको प्रेममा डुबेका जापडियाले जानुकाको प्रस्ताव स्वीकार गरे र जानुकालाई नेपाल पठाउन तयार भए । तर जानुकासँग खर्च पनि नभएको र बाटो पनि थाहा नभएको कारण जापडिया पहिलोपटक जानुकालाई पुर्याउन काँकडभित्तासम्म आए । त्यसपछि उनी फर्किए ।

जापडिया गुजरात फर्किएपछि पनि जानुकासँग फोन र ह्वाट्सएपमा निरन्तर कुराकानी भइरह्यो । जानुकाको प्रेममा चुर्लुम्म डुबेका जापडिया जानुकालाई भेट्न बेला बेला झापा आइरहे । त्यसबाहेक जानुका विराटनगरमा रहेका आफन्तकोमा जाने र जापडिया पनि बिराटनगर आएर जानुकासँग भेटघाट तथा बसोबास गर्न थाले । जापडियाले जानुका, जानुकाका बालबच्चा लगायतका लागि कपडा तथा खर्च दिइरहन्थे ।

जानुकाकै कारण जापडियाकी श्रीमतीले गरेकी थिइन् आत्महत्या

जापडिया गुजरातकै करसम्बन्धी काम गर्ने कार्यालयमा काम गर्थे । उनको आम्दानी पनि राम्रै थियो । तर जब जानुकासँग प्रेम सम्बन्धमा परे, तब घरमा खर्च पनि कम दिन थाले । जानुकासँग सम्बन्धमा रहेको कुरा जापडियाको श्रीमतीले थाहा पाइन् । दुईवटा बालबच्चासमेत भइसकेका जापडियाकी श्रीमतीले उनलाई जानुकासँगको सम्बन्ध तोड्न र घर परिवार नबिगार्न पटकपटक आग्रह गरिन् । तर जापडियाले नमानेपछि उनकी श्रीमतीले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएर आत्महत्या गरिन् ।

जापडियाको श्रीमतीले आत्महत्या गरेपछि जानुका र जापडियाको सम्बन्ध झनै प्रगाढ बन्न थाल्यो । जापडियाले जति कमाउँथे, अधिकांश पैसा जानुकालाई नै पठाउन थाले । जापडियासँग सुरुमा के सहमति भएको थियो भनेर जानुकाले प्रहरीलाई बताएकी छैनन् । तर पछिल्लो समय जापडियाले जानुकालाई आफूसँग विवाह गर्न दबाब दिन थालेका थिए ।

लोग्ने छाडेर आफूसँग विवाह गरी बस्न जापडियाले बारम्बार दबाव दिइरहे । जानुकाले भने विवाह गर्न मानिनन् । जापडियासँग त पैसा फुत्काउन मात्रै प्रेम गरेकी थिइन्, जानुकाले । अनि जब जानुकाले विवाह गरेर जान मानिनन्, त्यसपछि जापडियाले अहिलेसम्म दिएको पैसा फिर्ता माग्न थाले । त्यसपछि दुई बीच तनाव सुरु भयो । अब जापडियाले कुनै हालतमा नछाड्ने भएपछि जापडियालाई मारेर उन्मुक्ति लिने र रकम फिर्ता नगर्ने जानुका र उनको श्रीमान् लगायतले योजना बनाए ।

हुन त जानुकाका श्रीमान बृखबहादुर थापालाई पनि जानुका र जापडियाको सम्बन्धबारे थाहा थियो । तर जापडियाले पैसा दिइरहेका कारण उनी चुपचाप थिए । वृखको सानो इलेक्ट्रिक पसल भएको कारण उनी बिहानै पसल गएर बेलुका ८ बजेतिर मात्रे घर फर्किन्थे । जापडिया नेपाल आएको बेलामा जानुकाकै घरमा दुईजनालाई छाडेर वृख पसलमा जान्थे र बेलुकामात्रै फर्किन्थे ।

जानुकालाई भेट्न आउने क्रममा नै जापडिया एकपटक पक्राउ परेका थिए । अनुमति नलिई ५९ हजार भारतीय रुपैयाँ बोकेर आएको कसुरमा इलाका प्रहरी कार्यालय रानीले २०७९ वैशाख ४ गते पक्राउ गरेको थियो । पक्राउपछि जापडियालाई विराटनगरको रानी भन्सार कार्यालयमा बुझाएपछि त्यहाँबाट आन्तरिक राजश्व कार्यालय इटहरीमा अनुसन्धानका लागि पठाइएको थियो । त्यहाँ दुई लाख ८० हजार रुपैयाँ धरौटी राखेर जापडिया छुटेका थिए ।

मुद्दाको सिलसिलामा जापडिया नेपाल आइरहनुपथ्र्यो र नेपाल आउँदा उनी जानुकाकै घरमा बस्थे । गत असार ९ गते पनि जापडियाको मुद्दाको तारेख थियो इटहरीमा । त्यो तारेख लिनका लागि जापडिया असार ७ गते नै आएर जानुकाको घरमा आइपुगेका थिए । ७ गते र ८ गते जापडिया जानुकाको घरमै बसी असार ९ गते बिहानै इटहरी गएका थिए । इटहरीमा तारेख लिएपछि जापडिया अपरान्ह करिब ३ बजे नै जानुकाको घरमा पुगे ।

हत्या गर्ने पूर्व योजना बनाइसकेका जानुका र उनका श्रमिान बृखले असार ७ गते नै सुरेश परियारलाई घरमा बोलाएका थिए । असार ७ गतेदेखि नै सुरेश जानुकाका आफन्तको नाता लगाएर घरमा थिए । त्यसैगरी असार ९ गते बिहानै जानुकाका भदा सैलेश सापकोटा पनि आइपुगे ।

अनि असार ९ गते साँझ जापडिया, सुरेश र सैलेश भएर मदिरा सेवन गरे । जापडियालाई अत्याधिक मदिरा पिउन लगाइयो । जब जापडिया मदिराले लठ्ठ भए, त्यसपछि सुरेशले पछाडिबाट जापडियालाई आक्रमण गरे । आक्रमणलगत्तै ढलेका जापडियालाई पछि फलामको हम्मर प्रहार गरियो । टाउकोभरि खाल्डो नै हुनेगरी आक्रमणपछि घाँटीसमेत थिचेर जापडियाको हत्या गरियो ।

जानुकाको समूहले पूर्व योजना अनुसार नै पहिले नै बोरा ल्याएर राखेका थिए । त्यसपछि बोरामा शव राखेर वृखले चलाउने गरेको प्रदेश नम्बर १–०१–०१२ प ८१५० नम्बरको मोटरसाइकलमा शव राखेर सुरेश र सैलेशले उक्त शव खाल्डो खनेर गाड्न लिएर जान्छन् । तर असार ९ गते रातको करिब साढे ११ बजे हत्या भएको अर्जुनधारा नगरपालिका–७ डाँडागाउँबाट वडा नम्बर ४ मा पर्ने साहसी बस्ती नजिकैको खेतमा शव पुर्याएर उनीहरूले त्यहीँ रहेको ह्युम पाइपभित्र शव छाडेर फर्किन्छन् । उक्त रात सबैजना जानुकाकै घरमा पुगेर सुत्छन् ।

भोलिपल्ट बिहानै सुरेशले शर्त बमोजिमको ५ लाख पैसा दिन भन्छन् । तर जानुकासँग त्यहाँ पाँचलाख पैसा थिएन । आफूसँग भएको २५ हजार दिएर दुई दिन पर्खिन भन्छिन् । तर दुई दिनपछि पनि पैसा नपाएपछि सुरेशले जानुकालाई नै थर्काउँछन् । त्यसपछि जानुकाले आफूसँग भएको गहना बेचेर सुरेशलाई १ लाख ७५ थप गरी कुल दुई लाख दिन्छिन् भने भदा सैलेश सापकोटालाई एक लाख दिन्छिन् । त्यसपछि सुरेश इटहरीतर्फ जान्छन् भने सैलेश सिक्किम पुग्छन् ।

जापडियाले करिब ३ करोड खर्च गरेको भाइको दाबी

इलाका प्रहरी कार्यालय बिर्तामोडमा आइपुगेका जापडियाका भाइले जापडियाले जानुका तथा नेपालमा रहेका जानुकाका आफन्तका लागि करिब ३ करोड रुपैयाँ खर्च गरेको दाबी गरेका छन् । जापडियाको भाइको करिब १० लाख रुपैयाँ बराबरको त सुनमात्रै किनेर जानुकालाई दिएको र घर बनाउन, सापटी लगायतका कामका लागि करिब ३ करोड रुपैयाँ दिएको दाबी छ ।

आर्थिक अवस्था राम्रो नभएकी जानुकाले पनि करिब साँढे ५ आना जग्गामा दुई तलाको घर बनाएकी छिन् भने घरमा मार्बल, स्टिलको रेलिङ, फर्निचर लगायतमा राम्रै लगानी गरेकी छिन् । आर्थिक स्रोतको सम्बन्धमा सोध्दा जानुकाका श्रीमान् वृखले जग्गा आफूले किनेको तर घर जानुकाले बनाएको बताएका छन् । जापडियाका भाइले भने जग्गा र घर दुबै जापडियाकै पैसाले बनाएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्