News Portal

अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने : कुहिने र नकुहिने फोहर छुट्याएर घरभित्रै राख्न आग्रह

रातोपोस्ट संवाददाता
२७२ पटक

काठमाण्डाैँ, ५ श्रावण । अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक हप्ता फोहर व्यवस्थापनको काम नहुने भएको हो ।

सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाण्डौ महानगरलाई केही दिन फोहरको गाडी नपठाउन आग्रह गरेको थियो । आजदेखि काठमाण्डौ उपत्यकाको १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम रोकिने काठमाण्डौ महानगर वातावरण विभाग प्रमुख सरीता राईले जानकारी दिनुभयो ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि आग्रह गरेको छ । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाण्डो महानगरको ५ सय मेट्रिक टन फोहर निस्किने गर्छ ।

निजी र महानगरका गरी दैनिक कम्तीमा २ सय गाडी फोहर लाने गरिएकाेमा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । अहिले निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये झण्डै ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्