News Portal

सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गर्‍याे : ओली

रातोपोस्ट संवाददाता
३०३ पटक

काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् ।

‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाज सरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहोर्‍याए । उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे । दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकता नै गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरे । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्