News Portal

हिंसामा परेकी शिक्षिकालाई हटाउन दबाव

रातोपोस्ट संवाददाता
२८९ पटक

झापा, १८ साउन । झापा मेचीनगर-७ स्थित अरनिको माविका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष दुवैले एकैसाथ राजीनामा दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा आचार्यले एकैसाथ आफ्नो पदबाट राजीनामा दिएको विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईले बताए । ‘दुवै अध्यक्षहरुको अलग-अलग राजीनामा आयो,’ प्रअ भट्टराईले भने, ‘दुवै राजीनामालाई मैले विद्यालयका शिक्षकहरुको माझमा पढेर सुनाएँ ।’

कार्यकाल सकिन दुई महिना मात्रै बाँकी रहेको अवस्थामा आफ्नो सोच अनुसार विद्यालय सञ्चालन गर्न नपाएको जनाउँदै दुवै अध्यक्षले राजीनामा गरेको जनाइएको छ ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष बाहेकका पदाधिकारीहरु मध्येबाट जेष्ठलाई अध्यक्ष मानेर कार्यकाल पूरा गर्न सकिने व्यवस्था रहेको प्रअ भट्टराईले बताए । उनले भने, ‘यदि अन्य सदस्यहरु समेतले राजीनामा दिनुभयो भने नयाँ व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्नुपर्ने हुन्छ ।’

अरनिको माविमा कार्यरत एक महिला शिक्षकलाई बर्खास्त गर्न केही अभिभावकहरुको नाममा विद्यालयमा निवेदन दर्ता गराइएको छ । केही महिना अघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापकले यौन दुव्र्यवहार गरेका कारण पीडित बनेकी महिला शिक्षकलाई संरक्षण गर्नुको साटो उल्टै समुदाय नै लागेर ती महिला शिक्षकलाई विद्यालयबाट नै बर्खास्त गर्न प्रयास गरिरहेको पाइएको छ ।

महिला शिक्षकमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका तत्कालीन प्रअले दुई महिना अघि शिक्षक पेशाबाट नै राजीनामा गरेपछि भट्टराईलाई प्रअको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्