News Portal

  • सामुदायिक वनमा आधारित वृत्तचित्र ‘हाम्रो जंगल’ सार्वजनिक

    रातोपोस्ट संवाददाता
    ९४ पटक

    झापा, २५ साउन । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित वृत्तचित्र बनेको छ । देशभरका वनहरू समुदायमा हस्तान्तरण भएसँगै गरेका प्रगतिको कथामा आधारित ‘हाम्रो जंगल’चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याइएको हो । झापा र इलामको वनहरू छायाङ्कन गरिएको ‘हाम्रो जंगल’ नामक एक घण्टाको उक्त वृत्तचित्रको झापाको जामुनखाडी सिमसारमा बुधवार सार्वजनिक गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुति र माइबेनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको उक्त वृत्तचित्र सातौँ वन दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो ।
    सामुदायिक वन उपभोक्ता महासंघ झापाद्वारा कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा वृक्षारोपणसहित वन नियमावली सम्बन्धी अन्तरक्रिया गरिएको थियो । ठुलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त चलचित्र सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा छायाङ्कन गरिएको छ । मेचीनगर निवासी निर्देशक केरुङले निर्देशन गरेको माझिदाई, आमाको काख, हामी शरणार्थी चलचित्र हिट भएका छन् ।
    तिनै सफल निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्र बनाएका हुन् । सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए । ‘सामुदायिक वनहरू यहाँसम्म आइपुग्न उपभोक्ताको ठुलो हात छ,’ उनले भने, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु ।’
    चलचित्रको मुख्य भूमिकामा कलाकारहरू सुभाष मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई र विपिन प्रसाईँ छन् । त्यस्तै, कृष्ण कोइराला, विक्रम श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ । निर्माता विस्मार्क लिम्बूका अनुसार वृत्तचित्रलाई देशभरका २२ हजार ४ सय सामुदायिक वनका उपभोक्ता समूह मार्फत उपभोक्तालाई देखाइनेछ । सो वृत्तचित्र बनाउने करिब ८० लाख रुपैयाँ खर्च लागेको उनले बताए ।
    महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य सङ्गीता थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष प्रेम घिमिरेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)