News Portal

झापामा तीन पत्रकार सम्मानित

रातोपोस्ट संवाददाता
२२९ पटक

झापा, २७ साउन । झापाली दिवंगत अग्रज पत्रकार डिकमान विरहीको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले आज एक समारोहबीच उक्त पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेहरुमा भीमा शिवाकोटी (डिकमान विरही पत्रकारिता पुरस्कार), विष्णुकुल श्रेष्ठ (उदीयमान पत्रकारिता पुरस्कार) र गंगामाया बेघा (उदीयमान पत्रकारिता पुरस्कार) रहेका छन् ।

नगद पुरस्कार स्वरुप शिवाकोटीलाई २५ हजार रुपैयाँ र अरु दुई पत्रकारलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

मेचीनगर–१३ चारआली निवासी डिकमान सुनुवार रासस, पूर्वाञ्चल, शनिवार, विवेचना, झुल्केघाम लगायतका पत्रपत्रिकामा कार्यरत थिए। उनको असामयिक निधनपछि फोनिज झापाले पुरस्कार स्थापना गरेको हो ।

पुरस्कृत शिवाकोटी कञ्चनजंघा एफएममा कार्यरत छन् भने श्रेष्ठ एपी वान टेलिभिजनमा कार्यरत छन् । फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय उपाध्यक्ष कमन देवान रहेका थिए । सो अवसरमा पत्रकारहरु दिपीन राई, इन्दु पूर्वेली, रेजिना रोदन, मनकुमार गदाल, गणेशमान मुखिया, रमेश समदर्शी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्