News Portal

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

रातोपोस्ट
२६८ पटक

काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेताबारे ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए ।

‘त्यस्तो त होइन, तर विगतमा कोही कसैबाट अनुशासन उल्लंघन भएको छ भने आत्मालोचना गर्दै पार्टी नीति, विधान, निर्देशन पाल्ना गर्दै आगाडि बढ्नुपर्छ । म पार्टीको विधान, नीति, निर्देशन मान्दिन भन्न पाइँदैन । हामी सबैले त्यो पालना गर्नुपर्छ’ थापाले भने ।

एमाले उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, पूर्वउपाध्यक्ष भीम रावलसहितका नेता विगतमा माधव नेपाल समूहमा भए पनि अहिले एमालेमै छन् । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्