News Portal

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई कस्तो योग ?

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौँ,८ कार्तिक । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।

मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुँदैन’ उनले भने । दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रहण सकिए पनि दोष भने साँझ ७:३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा लाग्‍नेछ भने अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्‍न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए । उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ । सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशि भएकालाई सुख, मिथुन राशि भएकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशि भएकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

प्रतिकृया दिनुहोस्