News Portal

विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति

रातोपोस्ट संवाददाता
३३२ पटक

झापा, १८ कार्तिक । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को संयुक्त जनसभामा उपस्थित शीर्ष नेता तथा उम्मेद्वारले गठबन्धन पहिलो शक्तिको रुपमा उदाएको संकेत एकैले पुष्टि गरेको बताए ।

लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन दललाई कसैले परास्त गर्न नसक्ने बताए । खनालले गठबन्धनलाई विजयी गराएर मुलुकको परिवर्तन सम्भव हुने दाबी गरे ।

एकीकृत समाजवादी पार्टीका सम्मानित नेतासमेत रहेका खनालले केपी ओली अहम्तालाई चिर्न गठबन्धन गर्नु परेको स्पष्ट पारे । “केपी ओलीले देशलाई बर्बादीतिर धकेलेका छन्,” उनले भने, “देश बचाउन हामीलाई तपाईं मतदाताको सहयोगको खाँचो छ ।” कार्यक्रममा झापा क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेद्वार तथा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिगमन परास्त गर्न गठबन्धन एकठाउँमा उभिनु परेको बताए । उनले समृद्धिको लामो यात्राका लागि एकपटक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल गरे ।

उम्मेद्वार शर्माले दुवै क्षेत्रका उम्मेद्वारहरु स्थानीय भएकाले पनि जनताको भावनालाई कदर गर्ने विश्वास व्यक्त गरे । “हामीले यहाँको भूगोल, यहाँको भावना बुझेका छौँ,” उनले भने, “हामी यहीँ केही गर्न चाहन्छौँ अनि यहीँ मर्न चाहन्छौँ ।” शर्माले स्थानीय र राष्ट्रिय समृद्धिका एजेण्डालाई संस्थागत गर्न गठबन्धन दलहरु सँगसँगै हिँड्नु परेको स्पष्ट पारे ।

कार्यक्रममा झापा क्षेत्र नं. १ “क” का उम्मेद्वार गोपाल तामाङले ग्रामीण क्षेत्रका जनतालाई विकासको अनुभूति दिलाउने गरी काम गर्ने वचन दिए । उनले जितेर गएपछि ग्रामीण क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर योजना बनाउने विश्वास दिलाए । “यो क्षेत्र अति नै दुर्गम हो । यहाँ जनताको जीवनस्तर उकास्न र विकासका योजना अझै अपुग नै छन्,” उनले भने, “जितेर गएको पाँच वर्षपछि आउँदा मलाई यहाँका जनताले विश्वास गर्न सक्ने गरी परिवर्तन गरेर दुखाउनेछु ।”

नेपाली काँग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अगुवा वृहस्पति खतिवडाले झापा र इलामको संगम बेसीबजार आसपासका क्षेत्रका समस्या समाधान गर्न उम्मेद्वारसमक्ष मागसहितको मन्तव्य राखे ।

उनले राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा रहेका दुबै क्षेत्रका उम्मेद्वार भएकाले उहाँहरुलाई जिताएर विकासको मूल फुटाउन सकिने विश्वास दिलाए । कार्यक्रममा इलाम क्षेत्र नं १ “ख” का उम्मेद्वार शमसेर राईले पनि मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्