News Portal

पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६४ लाख

रातोपोस्ट संवाददाता
२१२ पटक

झापा, कात्तिक २९ । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च समेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ । सहारा नेपाल साकोस सहित विभिन्न सहकारी संस्था, विद्यालय, सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् ।

व्यक्तिगत रुपमा समेत पितृको स्मृति, जन्मोत्सव तथा विवाह उत्सव लागायतका सन्दर्भमा दाताहरुले दिएको सहयोगबाट कोषमा उक्त रकम जम्मा भएको हो । पत्रकारको उपचार तथा दीगो हितका लागि कोषलाई सहयोग गर्ने सबै दाताहरुप्रति महासंघको हालै बिर्तामोडमा सम्पन्न साधारणसभाले धन्यवाद ज्ञापन गरेको छ ।साधारणसभाले कोषलाई एक करोड पुर्याउने लक्ष्य हासिल गर्न सहयोगका निम्ति सबै पक्षलाई अपिल पनि गरेको छ ।

महासंघका सदस्यले समेत उक्त सुविधा लिन न्यूनतम तीन हजार शुल्क तिरेर कोषमा आवद्ध हुनुपर्ने व्यवस्था छ । महासंघको अघिल्लो साधारणसभाले पारित गरेको कार्यविधि अनुसार पत्रकारले कोषमा एक पटक आवद्धता शुल्क बुझाएपछि पुनः बुझाउनु पर्दैन । साथै यही कात्तिक २५ गते सम्पन्न साधारणसभाले बिरामी तथा घाइते पत्रकारलाई यसअघि दिइदै आएको उपचार खर्चमा वृद्धि गरेको छ ।

झापाका बिरामी तथा घाइते पत्रकारलाई ‘क’ ‘ख’ ‘ग’ गरी तीन वर्गमा विभाजिन गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपचार खर्च दिईदै आएको थियो । उपचार कोष कार्यविधि संसोधन गरी अब ३० हजारसम्म उपचार खर्च दिन निर्णय गरिएको छ । त्यस्तै पत्रकार महिला सुत्केरी हुँदा यदि शल्यक्रिया गर्नुपर्ने भएमा २५ हजार रुपैयाँ उपचार खर्च महासंघले कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघले सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ । कोषको ब्याजबाट प्राप्त हुने रकमबाट तत्कालका लागि उक्त सहयोग प्रदान गरिने र भविश्यमा कोष वृद्धि हुँदै जाँदा सुविधा रकम पनि बढाउदै लगिने बताइएको छ । महासंघ झापाको सिफारिसमा उपचार खर्चको आधारमा जिल्लाका पत्रकारहरुले महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिलबाट समेत उपचार खर्च पाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्