News Portal

ओलीलाई मेयर बालेनको जवाफः सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै हुन्

रातोपोस्ट संवाददाता
३६७ पटक

काठमाडौँ, १३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा तमासा गरेको भनी गरेको टिप्पणीप्रति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले कडा प्रतिक्रिया दिएका छन्।

उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पटक–पटक मन्त्री र दुई तिहाई सरकारको प्रधानमन्त्री हुँदा पनि सुकुम्बासीको समाधान गर्न नसकेको भन्दै ओलीप्रति आक्रोश पोखेका हुन्।

‘सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ। तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन,’मेयर शाहले भनेका छन्।

सुकुम्बासीहरु राजनीतिक दलहरुका लागि केवल भोट बैंक मात्रै भएको शाहको भनाइ छ। उनले लेखेका छन्, ‘सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थविपरीतका कुराहरुमा प्रयोग गर्नु भयो। त्यो पनि राजनीतिक स्वार्थवश्।’

ओलीले सुनधारा मासेर सेतो टावर (धरहरा) ठड्याएको र नेवाः सभ्यतामाथि आक्रमण गरेको मेयर शाहको आरोप छ।

‘तपाईंलाई जनता, नदीनाला र नेवाः सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो?,’ बालेनले ओलीलाई सोधेका छन्, ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो? यी सबै हेर्दा नेवाः सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन।’

साथै मेयर शाहले सके सहयोग गर्न र नसके कसैका विरुद्ध कसैलाई प्रयोग नगर्न पनि ओलीलाई चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।’

एमाले अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेको भन्दै आपत्ति जनाएका थिए। मेयर शाहले त्यसैको कडा शब्दमा ओलीलाई जवाफ दिएका हुन्।

प्रतिकृया दिनुहोस्