News Portal

विजय गच्छदारको सातौंपटक निर्वाचन जित्ने सपना अधुरो

रातोपोस्ट संवाददाता
२६५ पटक

धरान, १४ मंसिर । सुनसरी क्षेत्र नम्बर- ३ मा एमालेकी भगवती चौधरीको उदय भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस नेता विजय गच्छदारको विरासत भत्काउदै चौधरीले संसद् भवन प्रवेश पाएकी छन्।

तेस्रोपटकको अथक प्रयासमा भगवतीले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। भगवतीले ४० हजार ७ सय ८८ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्वी गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे। २०४८ को निर्वाचनपछि लगातार ६ पटक निर्वाचन जितेका गच्छदारको सातौंपटक निर्वाचन जित्ने सपना अधुरो बन्यो। गच्छदारले २०७० को दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीलाई थोरै मत अन्तरले पराजित गरेका थिए।

यस अगाडिका निर्वाचनमा भगवतीलाई पराजित गरेका विजयले यसपटक माओवादी, एसलगायतको दलसँगको चुनावी तालमेल हुँदासमेत सहज जित निकाल्न असफल रहे। कांग्रेस छाड्दासमेत दुई निर्वाचन जितेका उनलाई भगवतीले संसद् भवन प्रवेशमा पूर्णविराम लगाइदिइन्।

एमालेकी केन्द्रीय सदस्य लक्ष्मी गौतमले पटक–पटक निर्वाचन जितेका विजयदेखि सुनसरी क्षेत्र नम्बर ३ का जनता दिक्क बनेर यसपटक परिवर्तनको पक्षमा मत हालेका कारण भगवतीको जित भएको बताउँछिन्। उनले बलियो सत्ताा गठबन्धन दलको चुनावी तालमेललाई एमालेले सहज रूपमा पराजित गरी चुनावी नतिजा आफ्नो पक्षमा पारेको बताइन्।

फरवार्ड माइक्रो फाइनान्स वित्ताीय संस्था सञ्चालन गर्दै आएकी भगवती चौधरी सुनसरी–४ मा राम्रो पकड जमाउने महिला नेत्री हुन्। प्रत्येक टोलमा महिलाहरूलाई एकीकृत गरी फरवार्डबाट लगानी गर्दै आएकी उनलाई निर्वाचन जित्न एमालेको संगठनभन्दा यही वित्ताीय संस्थाले सहयोग पुर्‍याएको स्थानीयको भनाइ छ।

विजयले कांग्रेसका पुराना र युवा पुस्ताका नेता–कार्यकर्तालाई संगठित गर्न नसक्दा पराजित हुनुपर्यो। चुनावताका आफ्ना भित्रिया कार्यकर्तालाईसमेत खुसी पार्न नसक्दा उनी पराजयको सिकार बने।

विजयलाई ललिता निवास जग्गा प्रकरणमा मुछिनु, एउटै व्यक्ति सात पटकसम्म चुनावमा प्रतिस्पर्धा गर्नु, आफ्ना ‘एस म्यान’ लाई मात्र च्याप्नु, इटहरी क्षेत्रबाट जहिल्यै नेता कल्पना चौधरीलाई मात्रै च्याप्नु र पुराना सहयोगी प्रदीप चौधरीले स्वतन्त्र उम्मेदवारी दिनु उनका हारका प्रमुख कारण हुन्।

भगवती चौधरीले तीनपटकको प्रयासमा जनताले आफूलाई निर्वाचित गराएको भन्दै खुसी व्यक्त गरिन्। उनले सुनसरी क्षेत्र नम्बर ३ को विकासका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

प्रतिकृया दिनुहोस्