News Portal

मिर्चैयामा शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु, मिर्चैया तनावग्रस्त

रातोपोस्ट संवाददाता
३४४ पटक

सिरहा, २४ पुस । सिरहाको मिर्चैयास्थित सगरमाथा उमाविका एकजना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ । पानी सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो । उनी सिरहा नगरपालिका ११ भलुवाहीको रहेको प्रहरीले जनाएको छ ।

शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएपछि सिरहाको सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । महिनावारी भएर पेट दुखिरहेको बेलामा पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन डिउको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन् । छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्प्रिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइयो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थी र मृतकका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले बिहानदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ । लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीको माग छ ।आन्दोलनकारीहरुलाई तितरवितर पार्न प्रहरीले ५ राउण्ड हवाई फायर र ३ सेल आश्रु ग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए ।

आन्दोलनकारीको ढुगांमुढा लागेर ५/६ जना प्रहरी पनि घाइते भएको उनले बताए । इलाका प्रहरी कार्यालय मिर्चैया, एक एम्बुलेन्स र स्कुलमा तोडफोड भएको छ । ‘घटना घटेको २४ घण्टा पछि २३ प्रहरीलाई खबर भयो । हामीले तत्काल उपचारमा रहेको छात्रालाई भेटेर अनुसन्धान अगाडि बढाएका थियौँ,’प्रहरी प्रवक्ता बुढाथोकीले भने,‘सिर्जनाले सेवन गरेको तरल पदार्थ जाँचको ल्याब पढाउँदैछौँ । शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी हुँदैछ ।’

प्रतिकृया दिनुहोस्