News Portal

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई विजयी

रातोपोस्ट संवाददाता
१६९ पटक

झापा, २२ माघ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् ।

आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७ सय ५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलका उम्मेदवार मोहन निरौलाले ५ सय ६८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा साझा समूहका लोकतान्त्रिकका कपिल क्षेत्री विजयी भए । उनले ५ सय १६ मत ल्याए । स्वतन्त्रका हरिप्रसाद कोइरालाले ५ सय ९ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका भूमि पौडेलले ६ सय ५५ मत ल्याउँदै विजयी भए । साझा समूहका आनन्द खड्काले ५ सय ९७ मत ल्याए ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिकका कञ्चन बराल विजयी भए । उनले ७ सय ३२ मत ल्याए । साझा समूहका भीमबहादुर कुँवरले ५ सय ४ मत ल्याए । महिला उपाध्यक्षमा लोकतान्त्रिकका निर्मला चौहान भण्डारीले ६ सय २६ मत ल्याइन् । साझा समूहकी सुनिता शर्माले ५ सय ८५ मत ल्याइन् ।

महासचिवमा साझा समूहका दिनेश शाक्यले ६ सय ६८ मत ल्याउँदै विजयी भए । लोकतान्त्रिकका उदयकुमार श्रेष्ठले ५ सय ५० मत ल्याएको निर्वाचन समितिले जनाएको छ । महिला कार्यकारी सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ विजयी भए ।

कार्यकारी खुला सदस्यमा विष्णुबहादुर बुढाथोकी, कमलप्रसाद कोइराला, विनोदकुमार बानियाँ, श्यामप्रसाद न्यौपाने, भीम विष्ट, राजेशकुमार वंशल, सन्तोष खवास, दिपेन्द्रराज पाण्डे, बर्मलाल ओझा र चन्द्रबहादुर घोर्साईं विजयी भएको निर्वाचन समितिले जनाएको छ । शनिबार सम्पन्न चुनावमा संघका १ हजार ७ सय ६८ जना मतदाता मध्ये १ हजार ३ सय ८९ जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्