News Portal

मेचीनगरमा रमेश प्रसाईँलाई सम्मान

रातोपोस्ट संवाददाता
२१३ पटक

झापा, ११ फागुन । रमेश प्रसाईँलाई गृह जिल्ला झापामा सम्मान गरिएको छ । बिहीबार झापाको मेचीनगर १३ स्थित चारआलीमा रहेको आइतमाया थेबे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईँलाई नगदसहित सम्मान गरेको हो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईँलाई नगद २५ हजार १२५ रुपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

प्रत्येक वर्ष फागुन ११ गते प्रतिभा सम्मान कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यसअघि विभिन्न विधाका १६ जना प्रतिभालाई सम्मान गरिसकेको छ । सम्मानित हुनेहरूमा वर्तमान उपसभामुख इन्दिरा राना मगरदेखि नेपाली राष्ट्रिय क्रिकेट महिला टिमकी क्याप्टेन रूविना क्षेत्री, विश्व साइकल यात्री पुष्कर शाहलगायत रहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेबेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सम्मान कार्यक्रममा नगर प्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवम् अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, ज्येष्ठ आमाहरूबाट गणेश कुमारी न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष बिरू बेघा, नेपाली काँग्रेसका नेता सन्तोष न्यौपानेलगायतको आतिथ्य रहेको थियो । आइतमाया थेबे स्मृति प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेबेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव विश्व थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्