News Portal

बूढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
२०१ पटक

धरान, १५ फागुन । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो ।

काँकरभिट्टाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच लिम्बू नै घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । पुलिस क्लबले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि जितेको थियो । बीसौँ संस्करणमा भने पुलिस क्लब उपविजेता बनेको थियो ।

काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । मङ्गलबार क्वाटरफाइनलमा एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही फागुन २० गते फाइलन खेल हुने उक्त प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् ।

प्रतिकृया दिनुहोस्