News Portal

मेची क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित

रातोपोस्ट संवाददाता
१८० पटक

झापा, ६ चैत । मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले ९६० मत ल्याउँदा ढुङ्गानाले ८३० मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भीष्म घिमिरेले ९३३ मत पाएका छन् । कोषाध्यक्षमा भने नेविसंघका निलम कार्की विजयी भएका छन् ।

उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत पाएका छन् । त्यस्तै अनेरास्ववियुले दुई वटा सदस्य जित्दा नेविसंघले पाँच वटा सदस्य पद जितेको छ । अनेरास्ववियुका तर्फबाट अनुषा भण्डारी ९३६, उद्देश्य भण्डारी १०७७, नेविसंघका तर्फबाट सौरभ ओस्ती ९७२ , प्रजिन खतिवडा १००४, भीमार्जुन गिरी ९४३, प्रतीक शाह रौनियार १००१ र विवेक ढकाल ९६५ मत ल्याई निर्वाचित भएका छन् । मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको हो ।

कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठनलगायतले दुई वटा प्यानल बनाउँदा नेपाली काँग्रेसनिकट नेविसंघ एक्लै निर्वाचनमा होमिएको थियो । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए । अनेरास्ववियु प्रगतिशील संयुक्त सङ्गठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका थिए । नेविसंघले सिङ्गल उम्मेदवारी दिएको थियो । यस पटक मेची क्याम्पसमा २० औं कार्यकालका लागि स्ववियु निर्वाचन भएको हो । १९ पटक सम्मको निर्वाचनमा चार पटक मात्र नेपाल विद्यार्थी संघले जितेको थियो भने १५ पटक अनेरास्ववियुले जीत हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्