News Portal

मेचीनगरमा भुक्तानी रकम अब सेवाग्राहीको खातामा

रातोपोस्ट संवाददाता
६३ पटक

झापा, ८ असाेज । झापाको मेचीनगर नगरपालिकामा मंगलबारदेखि इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणाली (इएपटी) लागु भएको छ । यो प्रणाली लागु भएसँगै नगरपालिकाबाट भुक्तानी लिने सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधैं बैंक खातामा जाने भएकाे छ ।

‘कुनै पनि किसिमको भुक्तानी लिन अब नगरपालिका धाउनु पर्दैन, हामीले सेवाग्राहीको सुविधालाई ध्यान दिएर इएपटी प्रणाली लागु गर्याै,’ मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले भने, ‘अव भुक्तानी लिन नगरपालिकामा सेवाग्राहीको भीड लाग्ने छैन । सोझै खातामा रकम ट्रान्सफर हुन्छ ।’
मेचीनगर नगरपालिकामा भुक्तानी प्रक्रिया जटिल भएको र सेवाग्रहीलाई सास्ती भएको भन्ने गुनासो आउन थालेपछि इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणाली लागु गरिएको उनले बताए । यो सिस्टम लागु भएपछि अब भुक्तानी लिन नगरपालिका धाउनु पर्ने अवस्थाको अन्त्य भएको उनले बताए । जिल्लाका अन्य धेरै पालिकाहरुमा भने यो सिस्टम लागु भइसकेको उनको भनाइ छ ।

मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदम बहादुर कार्कीले इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणालीले नगरपालिकाको भुक्तानी प्रणाली सहज र प्रभावकारी हुने बताए । ‘यसले नगरपालिकामा हुँने भिडको अन्त्य गर्छ’ उनले भने–‘दैनिक जसो लेखा शाखामा भुक्तानी लिनेको ठूलो भीड लाग्थ्यो । कयौं दिन धाउनु पर्ने अवस्था थियो अव यसकाे अन्त्य भएकाे छ ।’

मेचीनगर नगरपालिकाले मंगलबार सिस्टम लागु भएको पहिलो दिन शिक्षा तर्फको ४२ वटा विद्यालयको ८ करोड ९८ लाख ८८ हजार ३८ रुपैयाँ ५६ पैसा निकासा गरेको लेखा अधिकृत कार्कीले बताए । ‘प्राथमिकताका आधारमा रकम भुक्तानी गर्दै जान्छौं,’ उनले भने–‘पहिलो दिन शिक्षकहरुको तलव भुक्तानी गरियो, अव कर्मचारी तलव, सामाजिक सुरक्षा भत्ता त्यसपछि अन्य विषयले प्राथमिकता पाउने छ ।’

‘हामी सेवाग्राहीलाई नगरपालिकासम्म धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने सोचमा छौं,’ उनले भने, ‘यो सिस्टम सुरु भएपछि क्रमश नगरका १५ वटै वडामा पनि जाने आगामी लक्ष्य छ ।’ कुनै पनि विकास निर्माणको सम्झौता गर्न वडामै प्राविधिक पठाएर संझौता गर्न सके सबै काम वडाबाटै हुने उनले बताए । हामी भविष्यमा त्यस तर्फ पनि योजना बनाउने छौं । यस प्रणलीबाट रकम भुक्तानी लिँदा पहिलोपटक भुक्तानी लिने ब्यक्ति, फर्महरुले आफनो चेकको प्रतिलिपि र तथा पान नम्बरको प्रतिलिपि नगरपालिकामा बुझाउनु पर्ने कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्