
झापा, २४ माघ । झापाको मेचीनगार–४, बाहुनडाँगीस्थित सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमका बीच प्रजातान्त्रिक सहिदलाई मरणोपरान्त सम्मान गरेको छ । सहिद सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्रजातान्त्र स्थापनार्थ ज्यान बलिदानी दिने सहिदलाई प्रतिष्ठानले सम्मान गरेको हो । २०६२÷०६३ को जनाआन्दोलनमा सहिद भएका राजन गिरीका बुवा केदार शमशेर गिरीले दिवंगत सहिदका परिवारका सदस्यलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् । सम्मानितहरुमा प्रजातान्त्रिक आन्दोलनमा सहादत भएका स्वर्गीय कृष्णलाल नेपालको सम्मानपत्र उनकी धर्मपत्नी तुलसा नेपाललाई प्रदान गरिएको थियोे ।
त्यसैगरी, स्वर्गीय मंगरु किसानको सम्मान उनका छोरा जगतबहादुर किसान, स्वर्गीय लालबहादुर तामाङको सम्मानपत्र छोरी गीता तामाङलाई र स्वर्गीय रत्नकुमार राईको सम्मानपत्र छोरा केदारबहादुर राईलाई कार्यक्रमका प्रमुख अतिथि केदारसमशेर गिरी तथा विशिष्ठ अतिथिहरुले प्रदान गरेका थिए । कार्यक्रममा शहिदको जीवनी र परिवारको अवस्थाबारेमा मेचीनगरका ८ वटा सामुदायिक र निजी विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई नगद तथा प्रमाणपत्रद्वारा प्रमुख अतिथि, विशिस्ठ अतिथिले समानपत्र एवम् नगद पुरस्कृत प्रदान गरिएको निर्णायक मिलन ढुंगानाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि केदारशमसेर गिरी, प्रदेश सदस्य गोपाल तामाङ, पत्रकार चन्द्र भण्डारी, निलकण्ठ तिवारी, सहिद परिवारका सदस्य गोपी रिजाललगायतले मन्तव्य राखेका थिए । सामुदायिक हलमा राम कट्टेल अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्र बुढाथोकीले स्वागत र निरज घिमिरे र शान्ता निरौलाले सञ्चालन गरेका थिए ।