News Portal

मापदण्ड मिचेर पाँचतारे होटलमा सेमिनार

रातोपोस्ट संवाददाता
१३२ पटक

मेचीनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक खर्च सम्बन्धी मापदण्ड मिचेर तारे होटलमा असल अभ्यास सम्बन्धी सेमिनार गरेको पाइएको छ । मन्त्रालयले मेचीनगरको पाँचतारे होटल मेची क्राउनमा सो सेमिनार गरेर मापदण्डको धज्जी उडाएको हो । सेमिनारमा कोशी प्रदेशका १३७ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको जनाइएको छ । सेमिनारमा कति प्रशासकीय अधिकृत सहभागी भए, त्यसको यकिन संख्या (तथ्यांक) समेत आयोजक मन्त्रालयका पदाधिकारीसँग छैन । बुधबारबाट सुरु भएको सेमिनार शुक्रबार सकिएको छ ।

सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने मापदण्ड २०८१ ले सो प्रकृतिका कार्यक्रम त्यस्ता स्थलमा गर्न रोक लगाएको छ । असल अभ्यास नाम दिइएको कार्यक्रममा मन्त्रालयले खराब अभ्यास गरिरहेको छ । सो मापदण्डको दफा ७ को तालिम, गोष्ठी तथा सेमिनार शीर्षकको बुँदामा लेखिएको छ, ‘तालिम, गोष्ठी, सेमिनार, छलफल, बैठक, अन्तरक्रिया जस्ता कार्यक्रम उपलब्ध भएसम्म अनलाइन विधिको माध्यमबाट सञ्चालन गर्नु पर्नेछ ।’ त्यो नियमको बर्खिलाप गर्दै मन्त्रालयले पाँचतारे होटल रोजेको हो ।

यो कार्यक्रम गर्दा लाखौं रुपैयाँ खर्च पक्कै भएको छ । कार्यक्रम हलको मात्रै एक दिनको एक लाख रुपैयाँभन्दा बढी लाग्ने जानकारहरु बताउँछन् । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले कति खर्च हुन्छ, त्यो आफूलाई थाहा नभएको बताए । ४ बुँदा रहेको सो दफामा ‘त्यस्ता कार्यक्रम भौतिक रूपमा उपस्थित भई सञ्चालन गर्नुपरेमा सम्भव भएसम्म आफ्नै सभाहल वा बैठक कक्ष, सार्वजनिक सभाहल वा बैठक कक्ष प्रयोग गर्नु पर्नेछ’ भन्ने स्पष्ट लेखिएको छ ।

तर, त्यो कुनै पनि कुरा पालना नगरी मन्त्रालयले पाँचतारे होटल रोजेको हो । दुरीका दृष्टिले पनि यो होटल अपायक स्थलमा पर्दछ । मोरङ, सुनसरी, धनकुटा लगायत जिल्ला छाडेर झापाको अन्तिम सीमा काँकरभिट्टा नजिक कार्यक्रम स्थल रोज्नु रहस्यमय छ । मापदण्ड मिचेर तारे होटलमा सेमिनार गर्नुभएछ नि भन्ने जिज्ञासामा प्रवक्ता पराजुलीले प्रक्रिया पु¥याएर कार्यक्रम गरेको जिकीर गरे । ‘यो वैदेशिक सहयोग अन्तरगत गरिएको कार्यक्रम हो, यसको भुक्तानी पनि सोही प्रक्रियामा हुन्छ,’ प्रवक्ता पराजुलीले भने, ‘कार्यक्रम प्रदेश स्थानीय शासन अन्तरगत भएको हो, मापदण्ड भित्रै रहेर कार्यक्रम गरिएको हो, कुनै नियम, निर्देशिका मिचिएको छैन ।’

उनको जवाफले वैदेशिक सहयोगमा हुने कार्यक्रम जसरी गरे पनि फरक नपर्ने आसय प्रष्ट दर्शाउँछ । कार्यक्रम मापदण्ड मिचेर गरेको प्रष्ट हुँदाहुँदै स्वीकार्न मन्त्रालयको जिम्मेवार पक्ष तयार छैन । प्रवक्ता पराजुलीले भने, ‘यही लेखिदिनुस्, यहाँ दायाँबायाँ र अनियमितता भएको छैन ।’

उनको जवाफ निक्कै हल्का छ । यसले सरकारी ढुकुटी र अनुदानको रकमको कसरी दुरुपयोग गरिन्छ यो एउटा उदाहरण मात्रै हो । यस्ता गतिविधि र कार्यक्रम नियन्त्रणमा जिम्मेवार र जवाफदेही निकायको ध्यान नगएको उदाहरण प्रशस्त छन् । कार्यक्रम मापदण्ड मिचेर गरिएको त छदैछ, त्योभन्दा रोचक पक्ष त सेमिनार समापनमा विभागीय मन्त्री राजकुमार गुप्ता र मन्त्रालयका सचिव रविलाल पन्थ नै उपस्थित भएको बुझिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सेमिनारको उद्घाटन गरेका थिए । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्